एमसीसी अन्तर्गत बन्ने विद्युत् प्रसारण लाइनको लागि ४४ अर्ब रुपैयाँको अन्तर्राष्ट्रिय ठेक्का आह्वान

काठमाडौं, मंसिर १२ ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको अनुदानमार्फत बन्ने विद्युत् प्रसारण लाइनको लागि अन्तर्राष्ट्रिय ठेक्का आह्वान भएको छ । मिलेनियम च्यालेन्ज एकाउण्ट एमसीए नेपालले ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन निर्माणको लागि ४४ अर्ब रुपैयाँको ठेक्का आह्वान गरेको हो ।

४ सय केभी क्षमताको प्रसारणलाइनको लागि तीन वटा खण्ड बनाएर ठेक्का आह्वान भएको छ । लप्सीफेदी–रातमाटे–हेटौंडा, लप्सीफेदी-दमौली र दमौली-न्यु बुटवल गरी तीन वटा खण्डको लागि एमसीए नेपालले ४ महिनाको समय राखेर ठेक्का निकालेको छ । इच्छुक कम्पनीले २७ मार्चसम्म आवेदन दिन सक्नेछन् । २९ अर्ब ६४ करोड रुपैयाँ प्रसारणलाइन र १४ अर्ब ८२ करोड रुपैयाँ सब-स्टेशनको लागि खर्च हुनेछ । आयोजनाको काम आउँदो भदौमा सुरु हुनेछ ।

काम सुरु भएको मितिले ५ वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने विषय संसदबाटै पारित भइसकेको छ । आयोजना समयमै सक्नको लागि र कुनै विवाद आएमा तत्कालै समाधान गर्नको लागि एमसीसी सम्झौतालाई संसदले नै अनुमोदन गरेको छ । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड डलर गरेर ६३ करोड अमेरिकी डलरमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिको काम हुन लागेको हो । काठमाण्डौको लप्सीफेदीबाट सुरु भएको तीन सय १५ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन नुवाकोटको रातामाटे पुग्नेछ ।

त्यहाँबाट एउटा लाइन हेटौंडा र अर्को दमौली हुँदै बुटवल पुग्नेछ । प्रसारण लाइन र सबस्टेशनमा तामाकोसी, सुनकोसी, भोटेकोसी, त्रिशुली, मर्स्याङ्दी र कालीगण्डकी नदी बेसिनका कैयौँ आयोजनाको बिजुली जोडिनेछ । यो लाइनले तीन हजार मेगावाट बिजुली बोक्नेछ ।

बुटवल पुगेको लाइनलाई भारतको गोखरपुरसम्म पुर्‍याउनका लागि नेपाल र भारतले संयुक्त कम्पनी बनाएर न्यु बुटवल–गोरखपुर प्रसारण लाइन बनाउँदैछ । यस्तै सडक स्तरोन्नतितर्फ दाङ र कपिलवस्तुको धानखोलाबाट दाङ र बाँकेको सीमाना शिवखोलासम्मको ७७ किलोमिटर सडकलाई अत्याधुनिक प्रविधिमार्फत स्तरोन्नति गरिनेछ । यो प्रविधि नेपालमै पहिलो हुने एमसीए नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्