नेप्से सूचक ३२ अंकले बढ्यो, २ अर्बको कारोबार
काठमाडौं, मंसिर ११ । साताको कारोबार को पहिलो दिन आइतबार नेप्सेमा ३२ अंकमाथिको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ३२.४३ अंकले बढ्दै १९६५.९८ अंकमा उक्लिएको हो ।
आज २ अर्बमाथिको कारोबार भएको छ । नेप्सेका अनुसार यस दिन २ अर्ब २ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर कारोबार भएको हो । २ अर्ब माथिको कारोबार लामो समयको अन्तरालमा भएको हो ।
आज सेयर बजारमा म्युचुअल फन्ड बाहेकका १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक आज ३.०७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ । म्युचुअल फन्डको उपसूचक भने आज ०.९८ प्रतिशतले घट्न पुगेको छ ।
आइतबार नै राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गर्ने तयारी गरेसँगै सेयर बजारमा उत्साह देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्