सुदूरपश्चिममा कांग्रेस बन्यो पहिलो

काठमाडौं, मंसिर  ११ । अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको कांग्रेस सुदूरपश्चिममा अहिले बढी सिट जितेर पहिलो दल बनेको छ ।

विसं २०७४ को निर्वाचनमा १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा डडेल्धुरामा मात्रै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सिट जिते पनि बाँकी आठ जिल्लामा कांग्रेस पराजित भएको थियो ।

नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा दुई/दुई, डडेल्धुरा, दार्चुला र अछाममा एक/एक गरी सात सिट प्रतिनिधिसभामा जितिसकेको छ । बाजुरामा विवादका कारण मतगणनाको काम भएको छैन । त्यसैगरी सत्ता गठबन्धनमा बैतडी र कञ्चनपुर निर्वाचन क्षेत्र नं १ भाग परेको नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिममा शून्य हुन पुगेको छ । प्रतिनिधिसभाका दुई सिट पाएको माओवादीबाट बैतडीमा नरेन्द्र कुँवर र कञ्चनपुर-१ मा पूर्वमन्त्री बीना मगर पराजित भइन् ।

गठबन्धनकै साथमा नेकपा (एकीकृत समाजवादी) ले पनि तीन सिट जितेको छ । यहाँ समाजवादीले अछाम-१, बझाङ र डोटीमा गरी तीन सिट जितेको हो । अछाममा समाजवादीबाट श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र डोटीमा पूर्वमन्त्री प्रेम आले र बझाङमा समाजवादीका नेता एवं पूर्वमन्त्री भानुभक्त जोशी निर्वाचित भए ।

पन्ध्र सिटमा उम्मेदवारी दिएको नेकपा (एमाले) सुदूरपश्चिममा दुई सिट जित्न सफल भएको छ । एमालेले डडेल्धुरामा भने नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्ललाई समर्थन गरेको थियो । एमालेका लागि बैतडीमा पूर्वराज्यमन्त्री दामोदर भण्डारी र कञ्चनपुर-१ मा प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङले जित दिलाए ।

त्यसैगरी पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका तीन सिट जितेर कैलालीमा आफ्नो वर्चश्व प्रस्तुत गरेको छ । यहाँ सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेका उम्मेदवारलाई पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीले कैलाली निर्वाचन क्षेत्र नं १, २ र ३ मा जितेको हो । यहाँ निर्वाचन क्षेत्र नं १ मा उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ, २ मा अरुण चौधरी र ३ मा गङ्गाराम चौधरी निर्वाचित भए ।

यसपटकको निर्वाचनमा सुदूरपश्चिममा सबैभन्दा खराब नतिजा माओवादीले पाएको छ । सत्ता गठबन्धनमा भागबन्डा गर्दा माओवादीले बैतडी, कञ्चनपुर-१ र कैलालीमा निर्वाचन क्षेत्र नं २ र ३ पाएको थियो । प्रतिनिधिसभामा शून्य भएको माओवादी प्रदेशसभामा भने आठ सिट जितेर दोस्रो ठूलो दल बनेको छ ।
अघिल्लो निर्वाचनमा ११ सिट जितेको एमाले अहिले दुई सिटमा खुम्चिनुमा पार्टी फुट र गठबन्धनको असर रहेको एमाले नेताहरूको भनाइ छ । नेपाली कांग्रेसमा डडेल्धुराबाट प्रधानमन्त्री देउवा, कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद, कञ्चनपुर ३ मा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक निर्वाचित भएका छन् ।

कांग्रेसबाट कैलाली ४ मा पूर्वमन्त्री वीरबहादुर बलायर, कैलाली ५ मा कांग्रेस नेता डिल्लीराज पन्त, अछाम २ मा कांग्रेस नेता पुष्पबहादुर शाह निर्वाचित भए । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेस नेता तथा हालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट निर्वाचित भए।

हाल मतगणना अनिश्चित रहेको बाजुरामा कांग्रेसबाट सहमहामन्त्री बद्री पाण्डे र नेकपा (एमाले) बाट पूर्वमन्त्री कर्ण थापाबीच चुनावी प्रतिस्पर्धा छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सहमहामन्त्री चिन्तामणि भट्टले कांग्रेसले सोचेअनुसार नतिजा आएको बताए ।

‘समानुपातिकको गणना सकिएपछि बैठक हुन्छ, समीक्षा हुन्छ’, उनले भने, ‘त्यसपछि प्रदेश सरकार बनाउने गृहकार्य सुरु हुन्छ ।’ त्यसैगरी नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका सह-इञ्चार्ज राजेन्द्रसिंह रावलले सत्ता गठबन्धनका बाबजुद पनि एमालेले जनताको स्नेह पाएको बताए। उनले भने, ‘अहिले पनि सुदूरपश्चिममा समानुपातिकतर्फ एमालेले लिड गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्