विश्व प्रतिजैविक सचेतना सप्ताह २०२२ विभिन्न कार्यक्रम गरि मनाईदै

काठमाडौं, मंसिर २ । विश्व प्रतिजैविक सचेतना सप्ताह २०२२  विभिन्न कार्यक्रमको आयोजना गरि मनाईंदैछ। हरेक वर्ष नोभेम्वर १८ देखि २४ तारिखसम्म विश्व एन्टीमाइक्रो बियल प्रतिरोध सचेतना सप्ताह मनाइने गरिन्छ ।

विश्व स्वास्थ्य संगठन, विश्व खाद्य तथा कृषि संगठन, विश्व पशु स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको संयुक्त आह्वानमा यो सप्ताह मनाइने गरिन्छ।

यस बर्ष विश्व एन्टीमाइक्रो बियल प्रतिरोध सचेतना सप्ताह यही मंसिर २ देखि ८ गते सम्म रहेको छ। नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको सहकार्यमा विश्व एन्टी माइक्रोबियल प्रतिरोध सचेतना सप्ताह “सबै क्षेत्र जुटौं, प्रतिजैविक प्रतिरोध रोकथाम गरौँ” भन्ने नारामा आधारित भई”एन्टीमाइक्रो बियल्सको प्रयोग सावधानी पूर्वक गरौँ”   भन्ने मूल भावनाका साथ विभिन्न कार्यक्रमहरु संचालन गरी मनाईंदैछ।

प्रतिजैविक प्रतिरोध विगत केहि दशक देखि विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रुपमा देखा परेको छ। यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टीबायोटिक्स लगायतका एन्टी माइक्रोबियल औषधिहरुको प्रभावकारीता कम हुँदै गएको छ।

मानिस, पशुपंक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरुका जीवाणु विरुद्ध प्रयोग हुने यी औषधिहरुको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरुको उपचारमा बाधा उत्पन्न भएको छ।

यसको कारण वर्षेनी करिब सात लाख मानिसहरुको मृत्यु भईरहेको रयसको नियन्त्रणको लागि ठोस कदमहरु नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्ममा वर्षेनी एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ।

मानवीय क्षतिका साथै विश्वभरि करिब एक सय खर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने र यसको प्रत्यक्ष असर नेपाल जस्तो विकासोन्मुख देशहरुमा पर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी समेत दिएको छ ।

नेपालमा वर्षेनी एक अर्व अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ जुन कुल औषधी आयातको ३० प्रतिशत हो । नेपाली बजारमा करिब ३६५ ब्राण्डका एन्टिबायोटिक औषधीहरु उपलब्ध छन्। र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधी उत्पादन गर्छन् ।

गाईवस्तु, सुँगुर र कुखुरा व द्धि र उत्पादन घाटा कम गर्ने उद्यश्यले एन्टिवायोटिकको चरम दुरुपयोग गरिने गरेको छ । यसरी प्रयोग गरिने खुराकहरुले प्रतिरोधी जिवाणूहरु सिर्जना गर्ने सम्भावना हुन्छ जुन मानिसहरुमा समेत सर्न सक्छ ।अझै पनि दुग्ध विकास फार्महरुमा एन्टिबायोटिकको सुरक्षित र न्यायोचित प्रयोग हुन सकेको छैन जसले गर्दा यस्ता मासु र दुध जन्य पदार्थको उपभोगले जनस्वास्थ्य जोखिम उच्च रहेको छ ।

सिमित उपलब्ध तथ्याँकका आधारमा हेर्ने हो भने नेपालमा प्रतिजैविक प्रतिरोध को प्रयोग बढ्दो क्रममा रहेको देखाएको छ ।एन्टीमाइक्रोबियल औषधि रेजिस्टेन्सले गर्दा मानव स्वास्थ्यमा देखिने प्रतिकूल असरन्यूनीकरणका लागि सबै क्षेत्र र समुदायले समय मानै प्रभावकारी कदम चाल्न अत्यावश्यक देखिन्छ।

यसस चेतना सप्ताहको मुख्य उद्देश्य विश्वव्यापी समस्याको रुपमा विकसित भई रहेको एन्टीमाइक्रोबियल रेजिस्टेन्स रोकथाम तथा नियन्त्रणको लागि”एक स्वास्थ्य” अवधारणा अनुरुप मानव स्वास्थ्य, पशु स्वास्थ्य,खाद्य तथा वातावरण क्षेत्रलाई संलग्न गराई एन्टी माइक्रोबियल औषधिहरुको समुचित प्रयोगको लागि व्यवहार परिवर्तनको सन्देश प्रवाह गर्न /गराउन आम नागरिक एवं सबै सरोकारवालाको भूमिकालाई प्रभावकारी प्रवर्धन गर्नु रहेको छ।

यसको नियन्त्रण तथा रोकथामका लागि सबै क्षेत्रको सामूहिक प्रयासअपरिहार्य रहेको छ । तसर्थ, यस “विश्व एन्टी माइक्रोबियल प्रतिरोध सचेतना सप्ताह, २०२२” आ-आफ्नो क्षेत्रबाट भव्यता तथा सफलताका साथ मनाउन सबै सरोकारवालामाअपील गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्