आज पनि शेयर बजार घटेर राताम्मे

काठमाडौं, कार्तिक २४ । लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेर राताम्मे भएको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अङ्कले घटेर एक हजार आठ सय ९३ दशमलव ७० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २६ वटा कम्पनीको ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशत तथा किसान लघुवित्त, पञ्चकन्यामाई हाइड्रो, गुहेश्वरी मर्चेन्ट फाइनान्स, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको शेयर पाँच प्रतिशतले घटेको छ ।

समग्रमा बजार राताम्मे हुँदा पनि मन्दाकिनी हाइड्रो कम्पनीको शेयर झन्डै चार प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्