निर्वाचनको सुरक्षामा जुटः प्रधानमन्त्री देउवा

काठमाडौं । शेरबहादुर एवं नेपाली काँगे्सका सभापति देउवाले मंसिर १० र २१ गते हुने संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।
नेपाल प्रहरीको बैसठ्ठीऔँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचन सफल पार्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै संघ र प्रदेशको चुनावमा सुरक्षा व्यवस्थामा मजवुत बनाउने तर्फ लाग्न निर्देशन दिएको हो ।

सीमित स्रोत, साधनका बाबजुद प्रहरीले देशमा शान्ति सुरक्षा स्थापना गर्न खेलेको भूमिका सराहनीय रहेको बताउँदै उनले भन्नुभयो – “त्यसका लागि राष्ट्रको तर्फबाट म उच्च प्रशंसा गर्छु ।”

प्रहरी र नागरिकबीचको सामिप्यतामार्फत समाजलाई सुरक्षित राख्न थप सक्रिय भएर लाग्न प्रहरीलाई उहाँले निर्देशन दिए ।

देशभित्र मात्रै होइन संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएर प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनामा समेत महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो ।

गृहमन्त्री जनार्दन शर्माले कर्तव्यपालनको क्रममा वीरगति प्राप्त गरेका प्रहरीका परिवार र घाइते प्रहरीका लागि थप कल्याणकारी कार्यक्रम ल्याउने तयारीमा सरकार रहेको तथा त्यसलाई संघीय प्रहरी ऐनमै समावेश गर्न लागिएको जानकारी दिए ।

प्रहरीको कामको मूल्याँकन गर्ने निकाय जनता भएको बताउँदै उनले रचनात्मक, व्यावसायिक र जनताप्रति समर्पित प्रहरी आजको आवश्यकता भएको कुरा व्यक्त गरे ।

प्रधामन्त्री देउवाले प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राखेर व्यावसायिक प्रहरीका रुपमा विकास गर्न आफूले ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्र ल्याएको र सोअनुरुप काम भइरहेको खुलासा गरे ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरीले कानूनी मान्यता पाएको दिनको सम्झनामा मनाइने प्रहरी दिवसले सबै प्रहरीलाई देश र जनताप्रति थप कर्तव्यनिष्ट भएर सेवा प्रदान गर्न जुजारु पार्ने कुरा बताए ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले यसवर्ष कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका २५ जना प्रहरी कर्मचारीको सम्मानमा उनीहरुका परिवारजनलाई कदरपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रधानमन्त्री देउवा, गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठलगायतले प्रहरी प्रधान कार्यालयमा रहेको ‘अमर प्रहरी स्मारक’मा पुष्पहार अर्पण गरेको थिए ।
कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई ‘लाइफटाइम अचिभमेन्ट एवार्ड’बाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्