डेंगु संक्रमण ह्वातै घट्यो, अहिले कति छन् संक्रमित ?

काठमाडौं, कार्तिक २१ । वर्षायामसँगै बढेको डेङ्गुको सङ्क्रमण ह्वात्तै घटेको छ । वर्षायाम सकिएको र जाडो सुरु हुन थालेपछि डेङ्गुको सङ्क्रमण घटेको हो ।

अहिले मौसम चिसो भएको र लामुखुट्टेको हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएको छ । जसले गर्दा डेङ्गुको सङ्क्रमण पनि कम हुदै गएको छ ।

वर्षायाममा कुनै समय एकहप्तामा पाँच हजार भन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए । अहिले त्यो सङ्ख्या निकै घटेको छ । गत मङ्गलबार (यही कात्तिक १५ देखि कात्तिक २० गते) सम्म छ सय २४ जनामा मात्र डेङ्गुका बिरामी भेटिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

जवकी अंग्रेजी महिना अक्टोबरमा (गत असोज १५ देखि कात्तिक १५सम्म) मा १७ हजार सात सय १७ जनामा र अङ्ग्रेजी महिना सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले डेङ्गुको सङ्क्रमण विगत दुई हप्तादेखि घटेको बताए । उनले वातावरणको प्रभाव र रोकथाम तथा नियन्त्रणमा गरेको कामको आधारमा डेङ्गुका बिरामी घटेको बताए ।

महाशाखाकै कीटजन्यरोग शाखाप्रमुख डा. गोकर्ण दाहालले जनवरीदेखि ३७औं हप्तासम्म डेङ्गुको सङ्क्रमण बढेको र त्यसपछि ३८आँं हप्तादेखि घटन सुरु भएको जानकारी दिए । उनका अनुसार ४३ औं हप्तामामा हजारभन्दा कमको सङ्ख्यामा डेङ्गुका बिरामी भेटिएका छन् । ४४औं हप्तामा आइपुग्दा छ सय २४ जनामा मात्र डेङ्गुको सङ्क्रमण देखिएको छ ।

उनँले अवको १५ दिनभित्र यो संख्या निकै कम हुने बताए । महाशाखाका निर्देशक डा. दासका अनुसार सङ्क्रमण दर उच्च भएको बेला नेपालमा डेङ्गु–१, डेङ्गु–२, डेङ्गु–३ र डेङ्गु–४ चार प्रकारका देखिएका थिए । महाशाखाका निर्देशक डा. दासले सङ्क्रमण अघि गरिएको १२ वटा नमूनामा सात वटामा डेङ्गु–१ र पाँच वटा नमूनामा डेङ्गु–३ देखिएको जानकारी दिए । अहिले फेरि कुन तहको डेङ्गु रहेको छ भनेर पत्ता लगाउनका लागि नमूना परीक्षण गरिएको छ । त्यसको रिर्पोट अझै नआएको उनको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावलका अनुसार अहिले अस्पतालमा नौ जना मात्र बिरामी रहेका छन् । तीमध्ये तीन जना सघन उपचार कक्ष (आइसियु) र छजना साधारण शैंयामा उपचाररत रहेका छन् । अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा बिमल चालिसे विगत १५ दिनदेखि डेङ्गुका बिरामी आउनेको संख्यामा कमी भएको बताए ।
उनले जाडो भएसँगै डेङ्गुको सङ्क्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेङ्गुका बिरामी घटेको बताउँछन् ।

उनले अस्पतालको आकस्मिक सेवा, बहिरङ्ग सेवा र परीक्षण गराउने आउने बिरामी घटेको बताउँछन् । अस्पतालमा पहिले दैनिक एक सय ५० देखि एक सय ७० बिरामी उपचार गर्न आउने गरे पनि अहिले त्यो संख्या घटेको छ । साँझ–बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण हुने गर्दथ्यो ।

नेपालमा यसवर्ष सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका छन् । असारदेखि असोज मसान्तसम्म सबैभन्दा बढी डेङ्गुका बिरामी भेटिएका हुन् । यसवर्ष मात्र ५० हजार दुई सय ६३ जना डेङ्गुका बिरामी भेटिएका छन् । तीमध्ये ५४ जनाको डेङ्गुका कारणले निधन भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले डेङ्गुका बिरामी घटेको बताउँछन् । उनका अनुसार अहिले २० जना मात्र डेङ्गुका बिरामी उपचारत रहेका छन् ।

नेपालमा पहिलो पटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, २०१० मा नौ सय १७ जना, २०१३ मा छ सय ८६ जना, २०१६ मा एक हजार पाँच सय २७ जना, २०१७ मा दुई हजार एक सय ११ जना, २०१८ मा आठ सय ११ जना र २०१९ मा डेङ्गु बढेको पाइन्छ ।

तीमध्ये सबैभन्दा बढी २०१९ मा १७ हजार नौ सय ९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा पाँच सय ३० जना र सन् २०२१ मा पाँच सय ४० जना डेङ्गुका बिरामी देखिएका थिए । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेङ्गुको रोग लाग्ने गर्दछ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्