अस्थायी शिक्षकको परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थी अनशनमा
काठमाडौँ । अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन शिक्षक सेवा आयोगले लिन लागेको परिक्षा स्थगित गर्न माग गर्दै विद्यार्थीहरुले आमरण अनशन थालेका छन् ।
राजधानीको माईतीघर मण्डालामा सोमबारबाट ३ विद्यार्थी अनशनमा बसेका हुन्। तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठले बदनियतपूर्ण तरिकाले शिक्षा ऐनको नवौं संशोधन गराइ अयोग्य शिक्षकहरुलाई स्थायी गर्न लागेको आरोप विद्यार्थी संघर्ष समितिले लगाएको छ। शिक्षा ऐन २०२८ मा भएको नवौं संशोधन राष्ट्रको हित विपरित रहेको भन्दै खारेज गर्न माग गरिएको छ।
‘चैत २३ गते तोकिएको परिक्षा स्थगित गरियोस् भन्ने हाम्रो मुख्य माग हो,’ समितिका प्रेस संयोजक दिग्गज धौरालीले भने, ‘परीक्षा स्थगित नगरेसम्म अनशन जारी रहन्छ।’ समितिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई समेत ज्ञापन पत्र बुझाएर परीक्षा रोक्न माग गरेको छ।
विद्यार्थीको अनशनस्थल आएर नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्ले, अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला र नयाँ शक्ति विद्यार्थी यूनियनका अध्यक्ष श्यामबावु गौतमले समर्थन जनाएका थिए।
उनीहरुले खुल्ला प्रतिस्पर्धा गराएर योग्य शिक्षक स्थायी गराउनुको सट्टा अयोग्य शिक्षकलाई स्थायी गर्ने बाटो रोजेर विद्यार्थीको भविष्य माथि खेलवाड गरेको भन्दै सरकार विरुद्ध आन्दोलन छेड्ने चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस्