काठमाडौं–निजगढ द्रुतमार्गका लागि भारतीय कम्पनीको डीपीआर किन्ने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) किन्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

सरकारले द्रुत मार्ग चार वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवस्थापनको जिम्मा २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिएको थियो ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म कूल ७६ दशमलव २ किमी लम्बाइ रहेको सो द्रुत मार्ग निर्माणको जिम्मा सेनालाई दिइएको पाँच महिना बितिसक्दा पनि डिपिआरको अभावमा खासै काम अगाडि बढ्न सकेको छैन ।

डिपिआर अध्ययनका लागि सरकारले पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा अध्ययन टोली बनाएको र सो टोलीले आफ्नो अध्ययनपछि निर्देशक समितिलाई प्रतिवेदन बुझाइसकेको छ ।

हाल सेनाले द्रुत मार्ग निर्माण गर्न मख्खुबेँसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा शिविर खडा गरेको छ । सडकमा पर्ने छैमले, सोखेल, फर्पिङ, भीमसेनस्थान, घुसखेलम, सैँबुलगायतका स्थानमा मुआब्जा वितरण कार्य जारी रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्