नेपाली फूलले धानेन माग, भारतबाट तीन लाख माला आयात

काठमाडौं , कार्तिक ८ । तिहारका लागि भारतबाट तीन लाख माला आयात भएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएसनका अनुसार यस वर्षको तिहारका लागि अपुग तीन लाख माला आयात भएको हो ।

तिहारमा यस पटक २० लाख सयपत्री फूलको माला खपत हुने एशोसिएसनको आँकलन छ । जसमध्ये स्वदेशमा उत्पादित सयपत्रीबाट १७ लाख माला बन्ने र बाँकी तीन लाख माला आयात गर्नुपर्ने एशोसिसएनका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

प्रतिगोटा ४० देखि ५० रुपैयाँ पर्ने २० लाख सयपत्री मालाको कूल मूल्य ११ करोड हुन आउने बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष मालाको मूल्य प्रतिगोटा १० देखि २० रुपैयाँ बढेको बताइएको छ । गत वर्ष सयपत्रिको प्रतिगोटा मालाको मूल्य ३० रुपैयाँदेखि ४० रुपैयाँ कायम थियो । गत वर्ष करिब १० करोड रुपैयाँ बराबरको १८ लाख सयपत्री माला बिक्री भएको थियो । यस वर्ष गत वर्षको तुलनामा मालाको माग झण्डै ११ प्रतिशतले बढेको एशोसिएसनले जनाएको छ ।

यस्तै यो वर्षको तिहारमा करिब १५ हजार गोदावरी फूलको माला बिक्ने एशोसिसएनले जनाएको छ । यसको मूल्य प्रतिगोटा ४०० रुपैयाँका दरले करिब ८० लाख रुपैयाँ हुने बताइएको छ । यस्तै, करिब १ लाख मखमली फूलको माला बिक्ने र यसको मूल्य प्रतिगोटा ४० रुपैयाँका दरले एक करोड ७० लाख रुपैयाँ बराबरको माला बिक्ने एशोसिएसनले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्