बलिउडका एक्सन हिरो सन्नी देओल ६४ लागे , कति होला उनको सम्पत्ति ?

काठमाडौं, कार्तिक २ । बलिउडका एक्सन हिरो सन्नी देओलले आज आफ्नो ६४ औं जन्मदिन मनाइरहेका छन् । सनी देओल एक यस्तो फिल्म नायक हुन् जसका कडा संवादहरू आज पनि उनका फ्यानहरूको ओठमा छन्।

देओल बलिउडका एक्सन हिरो हुन् । दमदार डाइलग मार्फत सबैको मन जित्न सफल उनी ‘गदर’, ‘इन्डियन’, ‘घायाल’, ‘घातक’, ‘बेताब’ जस्ता कयौं हिट फिल्म मार्फत लाखौको दिलमा बास गर्न सफल छन् । सन्नी आज बुधबारबाट ६४ वर्ष पुगेका छन् । आज परेको आफ्नो ६४ औं जन्मदिनको खुसी उनी आफन्तसँग साट्दैछन् ।

१९८२ मा फिल्म ‘बेताब’ बाट अभिनयमा डेब्यु गरेका उनले यो फिल्ममा अमृता सिंहसँग रोमान्स गरेका थिए । बलिउडमा उत्कृष्ट काम गरेपछि राजनीतिमा होमिएका उनले राजनीतिमा पनि प्रभुत्व जमाउन सफल भए । सन् २०१९ को आम चुनावमा भारतीय जनता पार्टीको टिकटमा गुरदासपुर लोकसभा सिट जितेर उनी सांसद बनेका छन् ।

८० को दशकमा फिल्ममा प्रवेश गरेका उनी ९० को दशकमा करियरको उचाइमा थिए । त्यो समय उनी एक फिल्मका लागि ९० लाख रुपैयाँ लिन्थे । फिल्म बोर्डरका लागि पनि त्यही पारिश्रमिक लिएका थिए । योसँगै आजको समयमा उनको पारिश्रमिक ५ देखि ६ करोड पुगेको छ । सन्नी देओलले फिल्म ‘चुप’ का लागि ६ करोड लिएका थिए ।

सन्नी करोडौंको सम्पत्तिका मालिक हुन् । २०१९ को चुनावमा उनले आफ्नो सम्पतिको जानकारी दिएका थिए । त्यतिबेला सन्नीले आफूसँग ६० करोड रुपैयाँको चल सम्पत्ति र २१ करोड रुपैयाँको अचल सम्पत्ति रहेको बताएका थिए । मिडिया रिपोर्टकाअनुसार अहिले अभिनेताको कुल सम्पत्ति १७ मिलियन डलर (१३३ करोड रुपैयाँ भारु) छ ।

उनले महिनामा एक करोड रुपैयाँ कमाउँछन् र उनी धेरै लक्जरी गाडीका मालिक हुन् । देओल पूर्ण पारिवारिक व्यक्ति हुन् । सन्नी र उनका भाइ बबी देओलको सम्बन्ध निकै राम्रो छ ।

प्रतिक्रिया दिनुहोस्