पल शाहविरुद्ध मुद्दाको पेसी तेस्रोपटक पनि स्थगित

काठमाडौं, असोज २६ । नाबालिग जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका पल (पूर्णविक्रम) शाहको पेसी तेस्रोपटक पनि स्थगित भएको छ ।

जिल्ला अदालत तनहुँमा बुधबारका लागि तोकिएको पेसी आसन्न निर्वाचनको तयारीका कारण स्थगित भएको अदालतका सूचना अधिकारी हरिश्चन्द्र गौतमले बताए ।

जिल्ला अदालतका न्यायधीश मुख्य निर्वाचन अधिकृत र सरकारी वकिल तनहुँ–२ को निर्वाचन अधिकृतका रुपमा खटिएका कारण पलको पेसी तेस्रोपटक पनि स्थगित भएको हो ।

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेका अनुसार निर्वाचनको कारण देखाउँदै सरकारी वकिल कार्यालयले मुद्दा पेसीबाट हटाएको जानकारी दिए ।नयाँ पेसी केही दिनमा तोकिने र अबको सुनुवाइबाट फैसला आउन सक्ने उनले बताए ।

यसअघि असोज २ र भदौ १५ गते पनि पेसी स्थगित भएको थियो । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको हो । उनी अहिले जिल्ला कारागार तनहुँमा छन् ।

यसैबीच नवलपुर जिल्ला अदालतको फैसला विरुद्ध केही दिनमै उच्च अदालत पोखरामा पुनरावेदन गर्ने तयारी भइरहेको बताएको छ ।

नवलपुर जिल्ला अदालतले नाबालिग बलात्कारको मुद्दामा शाहलाई सफाइ दिए पनि बालयौन दूराचारको मुद्दामा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद र १० लाख रुपैयाँ पीडतलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्