डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो, २७ हजार बढी संक्रमित

काठमाडौं, असोज १२ ।  डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको छ भने संक्रमितको संख्या २७ हजार ५६९ पुगेको छ ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा नौ हजार ४९६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा ६ हजार ४९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १७ हजार ७० पुगेको छ ।

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ६९१ जनामा संक्रमण देखिएको छ । संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा काभे्र, धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला रहेका छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या दुईसयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

नेपालमा डेंगी संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको वरिष्ठ विज्ञहरु बताउँछन् ।

त्यसका लागि सरकारका सबै तह र जनस्तरबाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको जोड छ ।

प्रतिक्रिया दिनुहोस्