नौ अभिनेत्रीलाई तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान

काठमाडौं, असोज ११ ।  ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ अभिनेत्री सम्मानित भएका छन्। काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नौ अभिनेत्रीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन्।

चलचित्र क्षेत्रमा योगदान पुर्‍याएबापत अभिनेत्रीहरू भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियङ्का कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई सम्मान प्रदान गरिएको हो।

सो अवसरमा उपराष्ट्रपति पुनले सम्मानित सम्पूर्णलाई बधाई दिँदै ‘राष्ट्रिय नवदुर्गा सम्मान’ लाई निरन्तरता दिन आग्रह गरे। ‘यो सम्मानले तपाईंहरूको कलाकारिता अगाडि बढाउन अझै मद्दत गर्ने विश्वास मलाई छ। दसैँको सुरुआतमा नारीलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,’ पुनले भने।

आयोजक रेजिना इन्टरटेन्मेन्टकी अध्यक्ष अभिनेत्री रेजिना उप्रेतीले नेपाली फिल्मलाई प्रतिनिधित्व गर्ने नारीहरूलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे। ‘उहाँहरूको कलाकारिता र योगदानलाई मूल्याङ्कन गरेर सम्मान प्रदान गरेका हौँ। यहाँ लोकप्रियताले प्रभाव पारेको छैन,’ अभिनेत्री उप्रेतीले भनिन्।

सम्मानित भएकी अभिनेत्री ऋचा शर्माले आफूहरूलाई ऊर्जा मिल्ने बताइन्। ‘यहाँ अग्रज भारती दिदीदेखि सुहानासम्म सम्मानित हुनुभएको छ। मलाई दायित्व थपिएको समेत महसुस भएको छ। बिनाप्रतिस्पर्धा पाइने यस्ता सम्मानहरुले छुट्टै ऊर्जा मिल्छ,’ उनले भनिन्। रासस

प्रतिक्रिया दिनुहोस्