‘प्रेम गीत-३’ को हिन्दी संस्करणले पनि पायो सेन्सर अनुमति, भोलि रिलिज हुँदै

काठमाडौं, असोज ९ ।  चलचित्र विकास बोर्डले ‘प्रेम गीत-३’ फिल्मको हिन्दी संस्करणको सेन्सरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ।

योसँगै सोमबारबाट फिल्मको हिन्दी संस्करण नेपालका हलहरूमा प्रदर्शन हुने भएको छ। निर्माण टिमका अनुसार फिल्मको सेन्सर आइतबार भइसक्नेछ। आइतबार साँझबाटै हिन्दी संस्करणको बुकिङ खुल्ने बताइएको छ।

चलचित्र विकास बोर्डले फिल्मको हिन्दी संस्करणलाई विदेशी फिल्मसरह १५ प्रतिशत कर तिर्नुपर्ने नियम बनाएको थियो।तर, मन्त्रालयले नेपाली फिल्मको मान्यता दिएपछि अब फिल्म १५ प्रतिशत कर पनि तिर्नु नपर्ने भएको छ।

गत शुक्रबार देखि विश्वभर एकसाथ प्रदर्शन हुन भएको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबार रिलिज हुन सकेको थिएन । प्राविधिक कारणले चलचित्रको हिन्दी भर्सन रिलिज गर्न नसकेको चलचित्र निर्माण टिमले बताएका थिए ।

आरोप/प्रत्यारोपमा अल्झिएको ‘प्रेमगीत ३’को हिन्दी भर्सन अन्तत : सोमबार देखि रिलिज हुने भएको छ ।

प्रर्दशनको क्रममा रहेको चलचित्रले पहिलो दिन विश्व बजारमा ७ करोड ७५ लाख बढी कमाइ गरेको छ । प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको चलचित्रलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।

पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको यो पहिलो चलचित्र हो ।

 

प्रतिक्रिया दिनुहोस्