भारतका ५ सय हलमा एकैसाथ प्रदर्शन हुँदै प्रेमगीत–३ !

काठमाडौं, असोज ६ ।  नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज हुने भएको छ। शो पाएका अधिकांश भारतीय हलले बुकिङ खुलाइसकेको बलिउड हंगमाले जनाएको छ।

७ असोजदेखि नेपालमा समेत प्रदर्शनमा आउन थालेको प्रेमगीत–३ लाई भारतीय दर्शकले ७५ रुपैयाँ भारुमा हेर्न पाउनेछन्।

नेपाल र भारतसहित प्रेमगीत–३ युएई, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया र युरोपका अन्य देशसहित ५०० स्क्रिनमा रिलिज हुनेछ।

भारतीय हलमा यो मूल्य शुक्रबार परेको ‘राष्ट्रिय फिल्म दिवस’ अवसर पारेर तोकिएको हो। फिल्मले भारतमा शुक्रबार १ करोडमाथिको व्यापार गर्ने निर्माताले जनाएका छन्।

निर्माता सुभाष कालेले भारतीय बक्स अफिसमा यो फिल्मले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको जानकारी दिए। सन्तोष सेनले स्व. छेतन गुरुङसँग निर्देशनमा सहकार्य गरेको यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुँदै छ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन्।

नेपालमा भने प्रेमगीत–३ को हिन्दी भर्सनलाई विदेशी फिल्मसरह सेन्सरका लागि अनुमति दिइएको छ।

प्रतिक्रिया दिनुहोस्