नेपाल टेलिकमले भोलिदेखि थप आठ स्थानबाट ई–सिम वितरण गर्दै

काठमाडौं, असोज ३ ।  नेपाल टेलिकमले भोलिदेखि विभिन्न आठ स्थानबाट ई–सिम वितरण गर्ने भएको छ ।

भोलिदेखि कम्पनीका ग्राहक सेवा केन्द्रहरू नक्शाल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरूसहित ग्राहक सेवा केन्द्र पुलचोकबाट पनि माग बमोजिम ई–सिम वितरण गरिने टेलिकमले जनाएको छ ।

टेलिकमले पहिले आफ्नो मोबाइल सेटमा ई–सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई–सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान अनुरोध गरेको छ ।

“मोबाइल सेटमा ई–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई–सिम प्रयोग गर्न सकिन्छ । यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरू देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ,” टेलिकमले भनेको छ ।

त्यसैगरी आइफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ । आइफोन वा एन्ड्रोइडको सेटिङमा Add mobile plan वा Add data plan देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।

“फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ,” टेलिकमले भनेको छ ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्