‘बौद्ध भजन’ को गीति क्यासेट अब बजारमा
काठमाडौँ, २४ भदौ । बौद्ध साहित्य तथा दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको श्रव्य, दृष्य सहितको ‘बौद्ध भजन’ को गीति क्यासेट बजारमा ल्याइएको छ ।
बौद्ध विद्वान् टिका शेर्पाले रचना गर्नुभएको भजनमा विश्व शान्तिको कामना, बुद्धका सन्देश, बौद्ध शिक्षा, नैतिकताका विषयका साथै बौद्ध तीर्थस्थललाई समेटिएर मोडलिङ समेत गरिएको छ ।
समाजसेवी इन्द्र तामाङले प्रायोजन गर्नुभएको भजनको मोडलको अभिनयमा वविता पाख्रिन, निर्मला घिसिङ, पवन तामाङले भूमिका निर्वाह गर्नुभएको छ । समाजसेवी तामाङ लामो समयदेखि संयुक्त राज्य अमेरिकामा बसोबास तथा बौद्ध साहित्यको प्रवद्र्धनमा क्रियाशील हुनुहुन्छ ।
गुम्बा विकास समितिका अध्यक्ष फूपु छेम्बे शेर्पाले विश्व शान्ति स्थापनाका लागि बौद्ध दर्शनको महत्व रहेको बताउँदै त्यसलाई प्रवद्र्धन गर्न ल्याइएको भजनको क्यासेट महत्वपूर्ण हुने बताउनुभयो ।
बौद्धनाथ क्षेत्र विकास समतिका अध्यक्ष राजकुमार लामाको उपस्थितिमा भएको विमोचन समारोहमा बौद्ध धर्मगुरुहरु तथा समाजसेवीले मन्तव्य दिनुभएको थियो ।
भजनका रचनाकार शेर्पाले बौद्ध शिक्षाको प्रचारका क्रममा आफूले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणका क्रममा प्राप्त अनुभवबा साथै यस दर्शनप्रति बौद्ध अनुयायीको समर्पणलाई आधार बनाएर गीतको रचना गरेको जानकारी गराउनुभयो ।
बौद्व विद्वान् शेर्पा बुद्ध वचन समितिका अध्यक्ष समेत हुनुहुन्छ । दोलखा मूलघर भएका शेर्पा हाल बौद्धमा बसोबास गर्नुहुन्छ । उहाँले सम्भोट लिपिका बौद्ध साहित्यको अनुवाद तथा धेरै बौद्ध कृति प्रकाशित गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्