संकटमा सन्दीपको करिअर: गुहारे क्यान, सहयोग गर्न आग्रह

काठमाडौं, भदौ २३ । सन्दीप लामिछाने छोटो समयमै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा स्थापित नेपाली क्रिकेटरमा पर्छन् । विश्वभरि आयोजना हुने चर्चित टी–२० लिगमा सहभागी टोलीका नजरमा सन्दीप प्रिय स्पिनर हुन् ।

विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने उनी एक मात्र नेपाली खेलाडी हुन् । भारत, अस्ट्रेलिया, युएई र क्यारेबियन विश्वप्रसिद्ध लिगमा आबद्ध हुँदै उनी करोडौँ कमाउन सफल भएका छन् ।

पछिल्लो दुई महिनाभित्र उनी लगातार अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भए । खेलेरै करोडपति बन्ने नेपाली खेलाडीको सौभाग्य सन्दीपले मात्र पाएका छन् ।

नेपालदेखि विदेशी लिगमा समेत स्टार ट्याग कमाएका सन्दीपको बलात्कार प्रकरणपछि करिअर संकटमा परेको छ । बलात्कार आरोप प्रमाणित भए नेपाली कानुनअनुसार सन्दीपले जेल सजाय भोग्नुपर्नेछ । यसैबीच यता जबरजस्ती करणीको आरोप लागेपछि लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् ।

लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् ।

लामिछानेले यस घटनामा आफू निर्दोष रहेको पनि बताएका छन्। हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि सन्दीप उतैबाट वेस्ट इन्डिज पुगेका थिए।   लिग सकेपछि सन्दीप नेपाल फर्कने बताइएको छ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्