एकीकृत कम्युनिस्ट पार्टीको केन्द्रदेखि जिल्लासम्मको संरचना यस्तो बन्दै छ

काठमाडौं । एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् ।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् ।

‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने, महासंघीय ढाँचामा रहेका पेसागत संगठनहरूलाई एउटै जनसंगठन बनाउने समझदारी भएको छ,’ विधान मस्यौदा कार्यदलका एक सदस्यले भने ।

पेसागत संगठनका एउटै महासंघ बन्ने

विधान मस्यौदा कार्यदलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामती कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघअन्तर्गत राखेर जनसंगठन बनाउने समझदारी भएको छ ।

त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान संघ, किसान महासंघ नेपालको नाम संक्षिप्त बनाउने तयारी छ ।

युवा संघ नेपाल र वाइसिएल एकतापछिको नाम भने के राख्ने भन्ने टुंगो छैन ।

पार्टी एकतालगत्तै जनसंगठन एकीकरण

एमाले र माओवादीले आगामी ९ वैशाखमा एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी घोषणा गरेलगत्तै दुवै पार्टीका जनसंगठनहरूको एकता प्रक्रिया अगाडि बढाउने भएका छन् ।

त्यसका लागि अहिलेकै कार्यदलले नाम र समायोजनबारे भ्रातृ संगठनका नेतृत्वलाई बोलाएर समझदारी जुटाउने योजना छ ।

भ्रातृ संस्थाहरूको सम्मानजनक एकताका लागि दुवै पार्टीका सम्बन्धित इन्चार्ज रहेको छुट्टाछुट्टै समिति बनाएर प्रक्रिया अगाडि बढाउने तयारी कार्यदलले गरेको छ ।

यसरी बन्दै छ केन्द्रदेखि जिल्लासम्मको संरचना

केन्द्रीय कमिटी:३०० देखि ३५०

एकीकृत पार्टीको केन्द्रीय कमिटी तीन सयदेखि साढे तीन सय सदस्यसम्मको बन्ने भएको छ ।

एमालेका २०६ र माओवादीका ९९ सदस्यलाई एकीकृत पार्टीमा समेट्ने विषयमा नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ ।

यद्यपि, दुवै पार्टीबाट थप केही नेताहरू समेटेर बढीमा ३५० सदस्यसम्मको केन्द्रीय कमिटी बनाउने तयारी छ ।

पोलिटब्युरो: १०० नजिक

एकीकृत पार्टीको पोलिटब्युरोमा भने सयको हाराहारीमा सदस्य रहनेछन् । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् औसतमा सयजनाको पोलिटब्युरो बनाउने तयारी छ ।

स्थायी समिति: ३५ हाराहारी

स्थायी समिति भने ३५ जनासम्मको बनाउने गरी छलफल चलिरहेको नेताहरूले बताए । यो पोलिटब्युरोको एकतिहाइ संख्या हो । तर, यो संख्यामा केही तलमाथि हुन सक्ने बताइएको छ ।

प्रदेश र जिल्ला कमिटी जम्बो

एमालेका प्रदेश संगठन कमिटी ५० देखि १ सय १५ सदस्यसम्मका छन् । माओवादीका कमिटी पनि जम्बो भएकाले एकीकृत कमिटी कम्तीमा दुई सय सदस्यीय हुने स्थिति रहेको कार्यदलका एक नेताले बताए ।

जिल्ला कमिटी पनि कम्तीमा डेढ सयदेखि २ सय ५० सदस्यसम्मको हुने ती नेताको भनाइ छ ।

केन्द्रको एकतापछि मात्रै तल्लो तहको

केन्द्रीय कमिटीको एकतापछि मात्रै प्रदेश र तल्ला तहका कमिटी तथा जनसंगठनहरूको एकता प्रक्रिया सुरु गर्ने कार्यदलमा नेताहरूबीच समझदारी भइसकेको छ ।

दुई वर्षभित्र सर्वसम्मत नेतृत्व चयन हुने गरी एकता महाधिवेशन गर्ने तयारी छ । -नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्