डेंगु संक्रमण भयावह, नियन्त्रणमा जुट्दै स्वास्थ्य मन्त्रालय
काठमाडौं, भदौ २० । देशका १० जिल्लामा डेंगु संक्रमण भयावह बनेको छ । तर, यसको रोकथामको प्रमुख जिम्मेवार निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने बल्ल तयारीमा जुट्दै छ ।
उपत्यकालगायत देशका केही जिल्लामा डेंगु फेलिएपछि मन्त्रालयले त्यसको रोकथाममा जुट्न सरकारी अस्पताल र स्वास्थ्य कार्यालयलाई आइतबार निर्देशन दिएको छ । उपत्यकाका सरकारी अस्पताल र तीनवटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुखलाई मन्त्रालयमा बोलाएर डेंगु नियन्त्रणमा लाग्न निर्देशन दिइएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरका अनुसार सबैभन्दा बढी प्रभावित जिल्ला छुट्याएर नियन्त्रणमा लाग्ने निर्णय आइतबारको बैठकले गरेको छ । हाल देशका चारवटा जिल्लाका डेंगु भयावह बनेको छ भने ६ जिल्लामा संक्रमण तीव्र छ । यी जिल्लालाई लक्षित गरेर कार्यक्रम तय गर्न लागिएको प्रवक्ता ठाकुरको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालले मात्रै डेंगुका बिरामीको चाप थेग्न नसक्ने भन्दै मंगलबार निजी अस्पतालका प्रमुखलाई पनि त्यसबारे छलफलमा बोलाएको थियो ।
आइतबारको बैठकमा सिभिल अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, ख्वपः अस्पताललगायत स्वास्थ्य कार्यालयका प्रमुखलाई बोलाइएको थियो । हाल उपत्यकाभित्र सबैभन्दा बढी संक्रमण ललितपुरमा छ । त्यस्तै, काठमाडौंमा भित्रभित्रै संक्रमण फैलिए पनि परीक्षण कम हुँदा संख्या कम आएको आकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले बताए ।
यता स्वास्थ्य मन्त्रालयले विभिन्न विज्ञहरूलाई सहभागी गराएर मंगलबार लामखुट्टे नियन्त्रणबारे छलफल गर्नेछ । छलफलमा निजी र सरकारीका स्वास्थ्यकर्मी र विज्ञहरूको उपस्थिति रहनेछ । बैठकमा मुख्यतः तीनवटा विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।
डेंगु नियन्त्रणबारे स्वास्थ्यकर्मीलाई तालिम दिने, संरचनाको अध्ययन गर्ने, स्वास्थ्यकर्मीको संख्या आकलन गर्ने र गाइडलाइनबारे छलफल हुनेछ । डेंगु नियन्त्रणमा कति खर्च लाग्छ र कति किट चाहिन्छ भन्नेबारे पनि मंगलबारको बैठकमा छलफल गरिनेछ । कस्तो बिरामीलाई निगरानी राख्ने, कस्तोलाई घरमै उपचार राख्ने, कस्तो बिरामीलाई आइसियूमा भर्ना गर्ने भन्नेबारे पनि गाइडलाइन बनाइनेछ ।
स्वास्थ्य मन्त्रालयको आइतबारसम्मको तथ्यांकअनुसार हाल देशभर पाँच हजार २९ जनामा डेंगु संक्रमण भएको छ । त्यसमध्ये दुईजनाको मृत्यु भएको छ । तर, संक्रमित हुनेको संख्या धेरै भएको आकलन मन्त्रालयले गरेको छ । संक्रमण भयावह हुन सक्ने भन्दै मन्त्रालयले निजी अस्पतालसँग पनि सहयोग माग गरेको छ । त्यस्तै, विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०सँग पनि आवश्यक सहयोग माग गरिएको छ । मन्त्रालयले देशभरिको डेंगुको डाटा सिस्टम पनि व्यवस्थित बनाउन इडिसिडीलाई निर्देशन दिएको छ ।
चार जिल्लामा स्थिति भयावह, ६ मा तीव्र
स्वास्थ्य मन्त्रालयका अनुसार हाल चारवटा जिल्लामा डेंगु भयावह छ । तीमध्ये ललितपुरमा एक हजार आठ सय ३२, काठमाडौंका आठ सय ८८, मकवानपुरमा पाँच सय ९८, रूपन्देहीमा चार सय ३९ जनामा डेंगु संक्रमण भेटिएको छ । यसबाहेक अन्य ६ वटा जिल्लामा पनि डेंगु फैलँदो छ । धादिङ एक सय ११, भक्तपुर ९९, तेहथुम ८८, गुल्मी ५९, सिन्धुली ६६ र संखुवासभा ५७ जनामा डेंगु देखिएको छ । यसबाहेक अन्य केही जिल्लामा दुई–चारजनामा मात्रै डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।
ललितपुरमा १८ सय ३२ जनामा संक्रमण, एकजनाको मृत्यु
ललितपुरमा डेंगुबाट एकजनाको मृत्यु भएको छ । सिराहा घर भई हाल ललितपुर ज्वागल बस्ने ३८ वर्षीय हिमालयकुमार साहको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी १२ भदौमा पुल्चोकमा रहेको अल्का अस्पतालमा उपचार गर्न गएका थिए । तर, अस्पतालले उनको अवस्था थप गम्भीर बनेपछि मेडिसिटीमा रिफर गरेको थियो । त्यहाँ भर्ना भएको तीन दिनपछि १५ भदौमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएका छ ।
पछिल्लो तीन दिनमा मात्रै ललितपुरमा करिब पाँच सयजना डेंगु संक्रमित थपिएका छन् । हालसम्म ललितपुरमा एक हजार आठ सय ३२ जनामा डेंगु पुष्टि भइसकेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । डेंगु संक्रमण भयावह बनेपछि जिल्लास्थित स्थानीय तहहरूले पनि जनचेतनाका कार्यक्रम र लामखुट्टेको वासस्थान नष्ट गर्न सुरु गरेका छन् ।
हाल ललितपुरको ज्वागल, बंगलामुखी क्षेत्र, थसिखेल, महालक्ष्मीस्थान, एकान्तकुनालगायत क्षेत्रमा संक्रमण तीव्र छ । त्यस्तै महालक्ष्मी नगरपालिकामा पनि डेंगु संक्रमण बढेको छ । हालसम्म त्यहाँ दुई सय १५ जनामा संक्रमण भइसकेको छ । गोदावरी नगरपालिकाभित्र पनि ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक सतिश विष्टले संक्रमण तीव्र बनेपछि स्थानीय तहमा स्ययंसेवक र स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए । उनका अनुसार गोदावरी, महालक्ष्मी, ललितपुर महानगरपालिका, बागमती गाउँपालिकामा सोमबार डेंगुको वासस्थान नष्ट गर्ने कार्यक्रम तय गरिएको छ ।
बिस्तारै फैलने क्रम बढेपछि स्वास्थ्य कार्यालय र स्थानीय तह यसको नियन्त्रणमा लागेका छन् । विषेश सावधानी अपनाउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्