मल्टीप्लेक्सबाट राधा हटाइयो, प्रकाशको शो बढ्दै
काठमाडौं, भदौ १५ । शुक्रवारबाट प्रदर्शनमा आएको अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘राधा’लाई निर्माताहरुले हलबाट उतार्ने निर्णय गरेका छन् । मंगलवार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले मल्टीप्लेक्सहरुले प्राइम टाइम र पर्याप्त शो उपलब्ध नगराएका कारण फिल्मलाई हलबाट उतार्ने घोषणा गरेको हो ।
निर्मात्री दिवकी विष्टले प्रदर्शनको पहिलो दिनदेखि नै ‘राधा’लाई शो बाँडफाँडमा मल्टीप्लेक्सहरुले चरम विभेद गरेको र फिल्मलाई उपलब्ध शो पनि दर्शकका लागि अनुकूल समयमा नभएका कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिइन् ।
फिल्मको बलियो ‘वर्ड अफ माउथ’का कारण सिनेमा हलमा दर्शकहरु आउने क्रम बढेको भए पनि मल्टीप्लेक्सहरुले शो घटाएको निर्मात्री विष्टको आरोप छ । उनले भनिन्, ‘बोल्नेहरुको फिल्मलाई मात्र शो बढाइयो । तर, नबोल्नेलाई शो नै दिइएन । तीजको विदामा फिल्म हेर्न दर्शक आउने आशा थियो । तर, आजै फिल्मले राम्रो शो पाएन । अनि, फिल्मलाई उतार्ने निर्णय लिएका हौं ।’
शुक्रवारबाटै प्रदर्शनमा आएको अर्को फिल्म ‘प्रकाश’लाई पनि सुरुवातमा हलवालाहरुले शो बाँडफाँडमा विभेद गरेपछि फिल्मको टिमले पत्रकार सम्मेलन गरेर आक्रोश व्यक्त गरेको थियो । त्यसलगत्तै फिल्मले ठूलो मात्रामा शो पाएको छ भने दर्शकले पनि साथ दिइरहेका छन् ।
अहिले राधा मल्टीप्लेक्सबाट हटेपछि प्रकाशको शो बढेको छ । क्यूएफएक्स सिनेमामा मात्र प्रकाशले आज ३० भन्दा बढी शो पाएको छ । आइतबारसम्म प्रकाश फिल्मले लगानी उठाइसकेको नायक प्रदीप खड्काले बताएका छन् । उनले प्रकाशमा लगानी भएको करिब साढे २ करोडको लगानी सुरक्षित भइसकेको जानकारी दिएका छन् । दर्शकको साथ पाएपछि अब प्रकाश नाफा कमाउने तिर लागेको छ ।
प्रतिक्रिया दिनुहोस्