बाँके सीमामा भारतले बनाउन थाल्यो बाँधजस्तै सडक

काठमाडौं । बाँकेस्थित सीमाक्षेत्रमा सडक बनाउन भारतले दशगजामा रहेका संरचना भत्काउन शुरु गरेको छ । विभिन्न जिल्लाका सीमामा बाँधजस्तो सडकका कारण नेपालीको बस्ती डुबान भइरहेका समाचार आइरहेका बेला भारतले बाँकेमा पनि त्यस्तै सडक बनाउन थालेको हो ।

दशगजादेखि ५ मिटर दूरी छाडेर सीमा सडक निर्माण गर्न यसअघि सर्भे गरिसकेको छ । लगत्तै संरचना हटाउन सुरु गरेको हो । सीमावर्ती रुपैडिहा बजार र जमुनाहामा दशगजासित जोडेर बनाइएका संरचना भत्काउन थालेको हो । सीमास्थित इलाका प्रहरी जमुनाहा नजिकको सीमान्त इन्टर कलेज सीमा सडकको मारमा परेको छ ।

दशगजानजिक रहेको भन्दै क्याम्पसका भवन भत्काइएको हो । त्यस्तै रुपैडिहा र जमुनाहाका एक सयभन्दा बढी घर विस्थापित भएका छन् । भारतीय अधिकारीका अनुुसार सीमा सडकबाट पीडितलाई मुआब्जा दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश केसीले बाँकेको पूर्वी क्षेत्रमा सीमा सडक निर्माण गरिएको बारे जानकारी भएको बताए । नेपालगन्जको जमुनाहा क्षेत्रमा भने सडक निर्माणको तयारीबारे सूचना नआएको जनाए । पछिल्लोपल्ट भारतीय पक्षले नेपालगन्जको सीमा छेउमा सडक निर्माणलाई तीव्रता दिएको छ ।

त्यस्तै जानकी गाउँपालिकाको साईगाउँ सीमा क्षेत्रमा तटबन्धजस्तै सडक निर्माण भइरहेको छ । सीमावर्ती बासिन्दाले त्यसको विरोध गरे पनि विस्तारको काम जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्