एक महिनामै ४५ अर्ब घट्यो वाणिज्य बैंकहरूको ‘डिपोजिट’

काठमाडौं, भदौ ५ ।  नयाँ आवको पहिलो महिना साउनामा वाणिज्य बैंकको डिपोजिट ४५ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एशोसिएसनले साउन महिनाभरिमा बैंकहरूबाट ४५ अर्ब डिपोजिट घटेको जानकारी दिएको हो ।

यस्तै साउन महिनामा बैंकहरूको लगानी भने बढेको छ । साउनको पहिलो साता वाणिज्य बैंकहरूमा ४४ अर्ब ७८ अर्ब रुपैयाँ निक्षेप थियो । जुन लगातार घटेर साउनको अन्तिम दिन अर्थात ३१ गतेसम्म आइपुग्दा ४५ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ३३ अर्ब रुपैयाँमा आइपुगेको हो ।

साउनको पहिलो साता ४४ खर्ब ७८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको डिपोजिट दोस्रो साता ४४ खर्ब ५० अर्ब रुपैयाँमा आइपुगेको थियो । यस्तै, तेस्रो साता पनि लगातार घटेर ४४ खर्ब ४६ अर्बमा आइपुगेको थियो भने चौथो साता डिपोजिट झनै घटेर ४४ खर्ब २१ अर्बमा आइपुगेको थियो ।

तर, साउनको २७ गतेको तुलनामा भने ३१ गतेसम्मको ४ दिनमा डिपोजिट बढेको देखिन्छ । २७ गते ४४ खर्ब २१ अर्ब रुपैयाँमा रहेको डिपोजिट ३१ गतेसम्ममा १२ अर्बले बढेर ४४ खर्ब ३३ अर्ब रुपैयाँ कायम भएको बैंकर्स एशोसिएसनले जनाएको छ ।

यसै गरी, साउन महिनामा बैंकहरूको लगानी १२ अर्ब बढेको छ । साउनको पहिलो साता वाणिज्य बैंकहरूको लगानी ४१ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो । जुन, ३१ गतेसम्म आइपुग्दा १२ अर्बले बढेर ४१ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको एशोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्