विपन्न र ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण गर्छाैँ: मेयर अधिकारी (अन्तर्वार्ता)

काठमाडौं, साउन ४ ।  देशभरका नगरपालिकाले दोस्रो कार्यकालको पहिलो बजेट ल्याएका छन । जसमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई जोड दिइएको छ । त्यसैगरि  तत्कालीन ६ वटा गाविस समेटेर २७ फागुन ०७१ मा नगरपालिका बनेको बुढानीलकण्ठमा सहरीकरण पनि बढेको छ । जनसंख्याको चापसँगै अव्यवस्थित सहरीकरण मात्र बढेको छैन, ट्राफिक जामको समस्या पनि बढ्दै गएको छ । बुढानीलकण्ठ जनसंख्यामा नगरपालिकामध्ये देशभरकै दोस्रो ठूलो हो । यहाँ १९ वडा छन् । नगरपालिकाले दोस्रो कार्यकालको पहिलो बजेट ल्याएको छ । जसमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई जोड दिइएको छ । मेयर मिठाराम अधिकारी अबको पाँच वर्षमा केही नयाँ काम गरेरै छाड्ने बताउँछन् । बुढानीलकण्ठका समस्या र मेयर अधिकारीको योजनाबारेको संक्षिप्त कुराकानी :

कार्यकालको पहिलो बजेट नै विस्तारकारी ल्याउनुभएछ नि ?

विस्तारकारीभन्दा पनि काम गर्न सकिने नै बजेट ल्याइएको हो । अघिल्लो आवभन्दा ३८ करोड मात्र बढी छ । यसरी दुई अर्ब २० करोडको बजेट छ । खर्च प्रणालीमा केही समस्या छन् । हामी सुधार गर्छाैँ । राजस्वको दायरा फराकिलो बनाउने गरी बजेट ल्याइएको हो ।

नगरपालिकाका प्राथमिकताका क्षेत्र के–के हुन् ?

प्राथमिकताको क्षेत्र शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोरमैला व्यवस्थापन र भौतिक पूर्वाधार नै हो । बुढानीलकण्ठ धार्मिक एवं पर्यापर्यटकीय क्षेत्र पनि हो । शिक्षामा ६ करोड २५ लाख, स्वास्थ्यमा ६ करोड ८५ लाख र खानेपानी योजना निर्माण तथा व्यवस्थापनका लागि सात करोड बजेट छ । नगरस्तरीय पुँजीगत खर्चका लागि ६५ करोड विनियोजन भएको छ ।

स्वास्थ्यमा कसरी सुधार गर्नुहुन्छ ?

अबको ६ महिनाभित्र नगर अस्पताल सञ्चालनमा आउँछ । पूर्वमेयरले शिलान्यस गर्नुभएको अस्पतालको भौतिक निर्माणको काम लगभग सकिएको छ । २४ बेडको अस्पताल सञ्चालन गर्ने लक्ष्य हो । तर, स्वास्थ्यका विज्ञहरूले एक सय बेडसम्म चलाउन मिल्ने सुझाव दिनुभएको छ । विशेषज्ञ चिकित्सकसहितको सेवा २४ घन्टा नै सञ्चालन हुनेछ । यो अस्पतालबाट निम्न स्तर (विपन्न)का नागरिक र ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिलाको निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा हुनेछ । केही औषधि पनि निःशुल्क हुनेछ । बाँकी नगरवासीलाई पनि न्यून शुल्कमा स्वास्थ्य सेवा पुर्‍याउनेछौँ ।

सामुदायिक विद्यालयमा राज्यको लगानीअनुसार प्रतिफल छैन नि होइन ?

बुढानीलकण्ठमा १९ वटा सामुदायिक विद्यालय छन् । पछिल्लो समय सुधारको लक्षण देखिएका छन् । केही समस्या अवश्य छन् । ती विद्यालयका मासिक क्यालेन्डर नै बनाएका छौँ । कसरी सुधार गर्न सकिन्छ भनेर नगरपालिकाका शिक्षा महाशाखा प्रमुखले स्थलगत रूपमै अध्ययन गरिरहनुभएको छ ।

खानेपानी र फोहोरमैलाको समस्या बढिरहेको छ नि ?

शिवपुरी जलाधारको केही पानी खेर गइरहेको छ । त्यसलाई व्यवस्थापन गर्छाैँ । केही क्षेत्रमा धारामा टुटी नै छैनन् । टुटी जडान गराएर चुहावट नियन्त्रण गर्ने योजना छ । र, केही बोरिङ सञ्चालनमा छन् । फेरि थप्छौँ । शिवपुरी क्षेत्रमा ड्याम बनाएर पानी रिजर्भ राख्ने योजना छ । रिचार्ज पोखरी बनाउन नगरपालिकाबाट सहयोग हुनेछ । यसले हिउँद र गर्मीयाममा भूमिगत पानीको स्रोत जोगाउन सहयोग गर्नेछ । सहरीकरण बढेकाले पानीको समस्या पनि बढिरहेको छ ।

यसका लागि संघीय सरकारसँग समन्वय हुनेछ । फोहोरमैला व्यवस्थापनका लागि प्लान्ट जडान गर्ने लक्ष्य छ । विज्ञहरूसँगको परामर्शका आधारमा २० करोड खर्च लाग्ने अनुमान गरिएको छ । यसबाट ग्यास र विद्युत् निकाल्न सकिन्छ, नगरपालिका क्षेत्रको धेरैजसो फोहोर यहीँ नै व्यवस्थापन होस् भन्ने हो । कुहिने र नकुहिने फोहोर अलग–अलग उठाउँदा पनि केही समस्या समाधान हुने ठानेका छौँ । धार्मिक र पर्यापर्यटनमा पनि जोड हुनेछ । शिवपुरी निकुञ्जसँग समन्वय भइरहेको छ । नगरपालिकामा होमस्टे सञ्चालनमा ल्याउने योजनासमेत छ । – नयाँ पत्रिकाबाट साभार 

प्रतिक्रिया दिनुहोस्