अब मर्जरमा जाने कम्पनीको कारोबार १५ दिनमात्रै रोक्का गरिने. तयार भयो निर्देशकाको मस्यौदा

काठमाडौ., साउन २६ ।  नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीहरुको सेयर कारोबार निर्देशिका २०७९ को प्रारम्भिक खाका तयार गरेको छ।

चालू आर्थिक वर्षको लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको समेत सेयर कारोबार रोक्का राख्ने जिम्मेवारी धितोपत्र बोर्डलाई दिएको थियो।उक्त निर्देशिकाले नेपाल धितोपत्र बोर्डले अब मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्रै रोक्का गर्ने व्यवस्था गर्ने भएको हो।

बोर्डले यसलाई प्रारम्भिक मस्यौदा भनेको छ। मस्यौदामा कम्पनीको मर्जर सम्झौता भएपछि मात्रै अधिकतम १५ दिन मात्रै सेयर कारोबार रोक्का हुने भनिएको छ।

एकीकृत व्यावसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने मस्यौदामा उल्लेख गरिएको छ।

बोर्डबाट गाभ्ने/गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनीसम्बन्धी कानूनबमोजिम एकीकृत व्यावसायिक कारोबारको स्वीकृति प्राप्त गरेपश्चात् सोको जानकारीसहित एकीकृत व्यावसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनुपर्ने मस्यौदामा बताइएको छ।

प्रतिक्रिया दिनुहोस्