१७ विकास बैंकले कमाए करिब सात अर्ब नाफा, हेर्नुहोस् कसले कति कमाए ?
काठमाडौं, साउन २४ । हाल देशभर १७ विकास बैंकहरू सञ्चालनमा छन् । तीमध्ये सालपा विकास बैंक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छैन । बाँकी १६ विकास बैंक नेप्सेमा सूचकिृत छन् ।
नेप्सेमा सूचीकृत १६ र नेप्सेमा सूचीकृत नभएको सालपा विकास बैंकले गएको आर्थिक वर्ष (आव) २०७८/७९ मा करिब सात अर्ब रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्षको तुलनामा विकास बैंकहरूको नाफा २७.१० प्रतिशतले वृद्धि भएको हो ।
तर, यीमध्ये नारायणी विकास बैंकको नोक्सानी वृद्धि भएको छ । यो बैंकको अघिल्लो वर्षको तुलनामा गएको वर्ष नोक्सानी बढेको छ । यो बैंक अघिल्लो वर्ष एक करोड १९ लाख रुपैयाँ नोक्सानीमा रहेकामा गएको वर्ष नोक्सानी बढेर एक करोड ५७ लाख रुपैयाँ पुगेको हो । यो बैंकको नोक्सानी एक वर्षको अन्तरालमा २३ प्रतिशतले वृद्धि भएको छ ।
अघिल्लो आव २०७७/७८ मा पाँच अर्ब ४९ करोड रुपैयाँ नाफा गरेका विकास बैंकले गएको आवमा ६ अर्ब ९८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
दुई विकास बैंकले गएको वर्ष अर्बभन्दा बढी नाफा गरेका छन् । एक अर्बभन्दा बढी नाफा गर्नेमा मुक्तिनाथ र गरिमा विकास बैंक रहेका छन् । यी बैंकले एक अर्बभन्दा बढी नाफा कमाएका हुन् ।
मुक्तिनाथले एक अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । गरिमा विकास बैंकले एक अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा मुक्तिनाथको नाफा १८.४७ प्रतिशतले वृद्धि भएको छ । गरिमाको सर्वाधिक नाफा २६.३५ प्रतिशतले वृद्धि भएको छ ।
विकास बैंकहरूले आफ्नो व्यवसाय विस्तारलाई तीव्रता दिएसँगै नाफामा पनि उलेख्य वृद्धि हुँदै गएको छ । बैंकहरूको पुँजी वर्षैपिच्छे बढिरहेको छ । यसरी पुँजी बढिरहँदा अहिलेको नाफा स्वाभाविक रहेको जानकार बताउँछन् ।
बैंकले महँगोमा ऋण प्रवाह गरेर नाफामा मात्र केन्द्रित भएको व्यवसायीहरूले आरोप लगाउँदै आएका छन् । तर, सेयरधनीहरूलाई प्रतिफल दिने क्षमतालाई हेर्नेे हो भने यो नाफा उलेख्य नभएको कतिपयको भनाइ छ ।
सालपा र सिन्धु विकास बैंकको नाफा सर्वाधिक वृृद्धि
१७ विकास बैंकहरूमध्ये गएको वर्ष सर्वाधिक नाफा वृद्धि गर्नेमा सालपा, सिन्धु र ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् । अघिल्लो वर्षको तुलनामा सालपा विकास बैंकको नाफा १५० प्रतिशतले वृद्धि भएको छ । सिन्धु विकास बैंकको नाफा ११३ प्रतिशतले र ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८६ प्रतिशतले वृद्धि भएको छ ।
सालपाले अघिल्लो आवमा ९४ लाख ७४ हजार रुपैयाँ नाफा कमाएकामा गएको आवमा दुई करोड ३६ लाखभन्दा बढी नाफा आर्जन गरेको छ । सिन्धुले गएको वर्ष ६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । ग्रीन डेभलपमेन्टले दुई करोड ४१ लाख नाफा कमाएको छ ।
गएको वर्ष एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकको नाफा घटेको छ । अघिल्लो वर्षको तुलनामा गएको वर्ष यी बैंकरूको नाफा १७४ प्रतिशतसम्म घटेको छ ।
कर्णाली डेभलपमेन्ट बैंक अघिल्लो वर्ष पाँच करोड आठ लाख नाफामा रहेकामा गएको वर्ष यो बैंक तीन करोड ७९ लाख रुपैयाँ नोक्सानीमा गएको छ । तर, सप्तकोसी र कर्पाेरेट डेभलपमेन्ट बैंक भने अघिल्लो वर्ष नोक्सानीमा रहेकामा गएको वर्ष नाफा आर्जन गर्न सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्