एमाले–माओवादी एकता प्रकृया ठप्प :कार्यदलका अधिकाश नेता मन्त्री

काठमाडोँ । पार्टी एकीकरणका लागि बनेको कार्यदलका धेरै नेता मन्त्री भएपछि एमाले र माओवादीबीचको एकता प्रकृयामा ‘डिस्क ब्रेक’ लाग्न पुगेको छ ।

वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने घोषणा तयारी भएपनि आवश्यक गृहकार्य गर्न खटिएका कार्यदलका सदस्य नै मन्त्री भएपछि एकताका लागि आवश्यक काम अगाडि बढ्न नसकेको हो ।

कार्यदलका सदस्यहरु नै मन्त्री नियुक्त भएपछि उनीहरुले पाएको एकताको लागि आवश्यक प्रतिवेदन तयार पार्ने काम प्रभावित भएको छ । यसअघि चैतमा नै पार्टी एकीकरण गर्ने घोषणा गरिए पनि गृहकार्य नपुग्दा वैशाख ९ का लागि सारिएको थियो ।

पार्टी एकता संयोजन समितिले कार्यदललाई गएको फागुन २५ गते भित्रै आआफ्ना जिम्मेवारी सहितको प्रतिवेदन तयार पार्न समयसीमा दिएको दिएको थियो । कार्यदलले प्रतिवेदन तयार पार्न नसकेपछि थप गरिएको १० दिन बितिसक्दासमेत काम पूरा भएको छैन ।

थपिएको १० दिनमा कार्यदलको बैठक एक पटक मात्र बस्न सक्यो । कार्यदलका सदस्यहरु मन्त्री बनेर व्यस्त भएका कारण बैठक बस्न नसकेको कार्यदलका सदस्य बेदुराम भुषालले जानकारी दिए ।

पार्टी एकताका लागि माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा सांगठनिक संरचना मस्यौदा निर्माण कार्यदल र एमाले नेता माधवकुमार नेपाल संयोजकत्वमा राजनीतिक प्रतिवेदन निर्माण कार्यदल गठन गरिएको थियो । प्रतिवेदन निर्माणका लागि आवश्यक छलफल समेत हुन नसक्दा एकता प्रक्रियाको काम धकेलिँदै गएको छ ।

थापा अहिले गृहमन्त्री बन्नु भएको छ भने कार्यदलका वर्षमान पुन ऊर्जा, ईश्वर पोखरेल रक्षा, मातृका यादव उद्योग, रघुवीर महासेठ भौतिक पूर्वाधार, गिरिराजमणि पोखरेल शिक्षा, गोकर्ण विष्ट श्रममन्त्री बनेका छन । ११ सदस्यीय कार्यदललका सातजना मन्त्री बनेपछि एकपटक पनि छलफल हुन सकेको छैन ।

यो कार्यदलले पार्टीको सांगठनिक संरचना कस्तो बनाउने भनेर मस्यौदा निर्माण गर्ने जिम्मेवारी पाएको छ । संघीय संरचना अनुसार पार्टीको गाउँ टोल कमिटिदेखि वडा, नगर, प्रदेश तथा पोलिटब्युरो एवं केन्द्रीय समितिको संरचनाको सन्दर्भमा आवश्यक मोडल तयार पार्ने महत्वपूर्ण जिम्मेवारी छ ।

कार्यदलको बैठक समेत बस्न नसकेको अवस्थामा उपसमितिले भने आफ्नो प्रतिवेदन तयार पारेर बुझाई सकेको छ । उपसमितिको प्रतिवेदनलाई कार्यदलले थप अध्ययन र छलफल गरेर अन्तिम रुप दिनुपर्छ । तर कार्यदलको बैठक नबस्दा सबै काम प्रभावित हुन पुगेको छ ।

कार्यदलले बनाएका उपसमितिहरुले काम गरिरहेको भए पनि कार्यदलले भने काम नगर्दा एकता प्रकृया लम्बिन सक्ने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्