शेयर बजार १० अङ्कभन्दा धेरैले बढ्यो, कारोबार कति ?

काठमाडौं, साउन २२ । शेयर बजार आज आइतवार १० अङ्कभन्दा धेरैले बढेको छ । दिनभर तलमाथि भइरहेको नेप्से बन्द हुने बेलामा १० दशमलव २७ अङ्कले बढेर २ हजार १ सय २३ दशमलव ८२ विन्दुमा पुगेको छ ।

आज जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १३ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मनकामना स्मार्ट लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । यस्तै तेह्रथुम पावरको साढे नौ प्रतिशत र उपकार लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । नयाँ सारथी लघुवित्त, साम्लिङ पावर र ग्रामीण विकास लघुवित्तको शेयर भने तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्