लोकदोहोरी प्रतिष्ठानका शिव हमाल गीत र म्युजिक भिडिओका कारण विवादमा , भन्छन् – म लज्जित छु
काठमाडौं, साउन २० । नेपाली सांगीतीक बजारमा अहिले तीजतका गीत धमाधम बजारमा आइरहेका छन् । गीत बजारमा आउने क्रममा केहि गीत विवादमा पनि आउने गरेका छन् । यहि क्रममा एउटा गीत अहिले विवादमा आएको छ । जुन गीत हो ‘पापाकी परी’ ।
यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा त्यतिकै छ । सुशीला पाठकको स्वर रहेको यो गीत भिडियो र शब्दका कारणले आलोचनामा परेको हो ।
शिव हमालको शब्द र आशिष अविरलको संगीत रहेको गीतमा मोडल करिश्मा ढकालले पेटीकोट लगाएर नृत्य गरेको देख्न सकिन्छ । गीतमा रहेका केही शब्द र पेटीकोटमा नृत्य गरेको दृश्य अपाच्य भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मार्फत कारबाही प्रकृया अगाडि बढाउने हमालको गीत नै नराम्रो भएको भन्दै सामाजिक संजालमा उनी बिरुद्ध समेत बिभिन्न आलोचना भइरहेको छ ।
गीत हटाउन हमाललाई चौतर्फी दबाब परेको छ । गीतको बिषयमा चौतर्फी दबाव भएपछि हमालले गीतको भिडियो सच्याउने भएका छन् । ‘गीत र भिडियोको बिषयमा म लज्जित छु । आत्मालोचना सहित माफी माग्छु’ हमालले रातोपाटीसँग भने ‘म आफै अरुको गीतमा यस्तो हुनु हुदैन भन्ने मानिस । मेरो यस्तो भयो ।’ उनले आफ्नो कारणले नभएर भिडियो टिमको कारणले गल्ती भएको भन्दै तुरुन्तै भिडियो सच्याएर ल्याउने सुनाए । गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।
गीत बोर हमाल भन्छन् – गीत विवादले मलाई पनि नराम्रो लागेको छ । एउटा बैसालु, सोझी, कुमारी युवतीको मनोविज्ञान मैले गीतमा उतारेको हो । भिडियोले त्यसलाई अपव्याख्या गरेको रहेछ । म उपत्यका बाहिर भएको बेला भिडियो सुटिङ भएछ । मैले आएर हेर्दा म जोडिएको बिषयमा यस्तो हुँदैन ।
अरुले गर्दा बोल्ने म मेरो गीतमा यस्तो कसरी हुन्छ । यो भिडियोले सुधार्ने हो बिगार्ने होइन भनेर दृश्य हटाउन लगाएको थिए । त्यो नहटाइ हालेको रहेछ । त्यो हट्छ । त्यसका लागि आज अर्काे भिडियो सुटिङ हुँदैछ ।
गीतसंगीत सुधार्न धेरै दु:ख गरेको मैले आफ्नो गीतको भिडियोले लज्जित हुनुपर्दा धेरै दु:खी छु । आत्मालोचना गरेको छु । मसँग जोडिएको कारणले माफी माग्छु ।
यो वर्ष तीज गीतको सिजन सुरु हुनु अगावै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले एउटा प्रेस विज्ञप्ती निकालेको थियो ।त्यो प्रेस विज्ञप्तीमा तीज गीतका नाममा अश्लिल गीत नगाउन र जथाभावी भिडिओ नबनाउन आग्रह गरिएको थियो ।
प्रतिष्ठानको आग्रहलाई बेवास्ता गरेर गीत निकाले कारबाही गर्ने चेतावनी समेत दिएको थियो ।
प्रतिष्ठानले विकृति नियन्त्रण समिति निर्माण गर्यो जसको संयोजक थिए शिव हमाल। बिहिबार शिव हमालकै शब्द रहेको गीत सार्वजनिक भयो। र अहिले उक्त गीत विवादमा परेको हो ।
प्रतिक्रिया दिनुहोस्