सप्तकोसी कटान: उद्धार र राहतको व्यवस्था गर्न गृहको निर्देशन

काठमाडौँ , साउन १८ । सप्तकोसीले कटान सुरु गरेपछि गृह मन्त्रालयले मातहतका निकायलाई जोखिममा रहेका परिवारको स्थानान्तरण, उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयमातहतका सबै निकायलाई अलर्ट राख्दै बाढी प्रभावितको उद्धार र राहतमा कुनै कमी हुन नदिन निर्देशन दिएका हुन् ।

सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि आसपासका २ हजार ४ सय घरधुरी जोखिममा परेका छन् । प्रहरीले जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिरहेको छ । प्रदेश(१ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीका अनुसार कटानका कारण ती घरधुरी जोखिममा परेका हुन् । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको छ ।

यता मन्त्री खाँणले बेलकामा सप्तकोसीको कटान र जोखिमबारे परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग समेत छलफल गरेका छन् । कटानबाट प्रभावित हुने बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्ने भन्नेबारे मन्त्रीद्वयबीच छलफल भएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम गरिरहेको छ । उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले प्रभावित बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको बताए ।कटानले सबैभन्दा बढी डुम्रिकोट र लाहुरेखोँचमा प्रभावित बनाएको प्रहरीले जनाएको छ ।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनील पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव, प्रदेश १ का नेपाल प्रहरीका प्रमुख नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश १ का सशस्त्र प्रहरी बलका प्रमुख नायव महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरेर तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मन्त्री खाँणका प्रेस संयोजक मधुसूदन भट्टराईका अनुसार मन्त्रालयको निर्देशनपछि कटान भइरहेको क्षेत्रमा जोखिममा रहेका नागरिकको उद्धार र स्थानान्तरणको काम सुरु भइसकेको छ । मन्त्रालयले तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउने तयारी थालेको छ । मन्त्री खाँणले विपद्‌मा परेकाहरूलाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उनीहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन गरेका छन् ।

प्रेस संयोजक भट्टराईले मन्त्री खाँणले आवश्यक परे जोखिममा रहेका नागरिकको उद्धारका लागि हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकाले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टरको प्रयोग गर्नुपर्ने हुनसक्ने भन्दै तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् ।

सेनाले कटान पीडितलाई आवश्यक परेमा तत्काल उपलब्ध हुने गरी हेलिकोप्टर तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्