गौचनको शव आज परिवारले बुझ्ने

काठमाडौं । अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको शव आज परिवारले बुझ्ने भएको छ ।

नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन भएका गौचनको हत्यारालाई चाँडै पत्ता लगाई काडा कारबाही गर्नुपर्ने, गौचनलाई शहिद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन् ।

गौचनका काका ओमकार गौचनका अनुसार महासंघ र गृहमन्त्रीको बुधबार भएको भेटमा गौचनलाई शहिद घोषणा गर्न गृहमन्त्री सकारात्मक देखिएको र आगामी बस्ने मन्त्रिपरिषद्को बैठकमा उक्त प्रस्ताव लैजाने आश्वासन दिएपछि शव बुझ्न लागिएको बताएको स्रोतले जनाएको हो ।

मृतक गौचनको शवलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि १२ बजेसम्म महासंघको कार्यालय बिजुलीबजारमा राखिने छ । त्यस्तै महासंघमा श्रद्धाञ्जलिका लागि राखिएपछि थकाली सेवा समाज बालाजुमा पनि श्रद्धाञ्जलिका लागि राखिनेछ ।

अध्यक्ष गौचनको हत्याको विरोधमा आज एक घन्टा काठमाडौंका विभिन्न ठाउँमा चक्काजाम तथा भोलि मुख्य राजमार्गमा चक्काजाम गरिने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्