लगातार तेस्रो दिन आज पनि बढ्यो सेयरबजार, कारोबार कति ?

काठमाडौ.साउन ३ ।  सेयरबजारमा यो हप्ता लगातार तेस्रो दिन सूचक बढेको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.२० अंकले बढेको हो।

योसँगै सूचक २०४५.६३ विन्दुमा पुगेको छ। क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ सूचक पनि २.८० अंकले बढेको नेप्सेले जनाएको छ।

दिनभरिमा २१३ कम्पनीको ५७ लाख कित्ता सेयर बिक्री भएको छ। ३७ हजार ९ सय ७२ पटक भएको खरिदबिक्रीमा २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३ सय २६ रुपैयाँको कारोबार भएको हो।

आज बजार खुलेयता १ बजेसम्म नेप्से निरन्तर उकालो लागे पनि त्यसपछि केही घटेर पुनः सुधार आएको थियो। मंगलबार १३ वटै उपसूचक हरियो बनेका छन्।

योसँगै १४६ कम्पनीको सेयर बढेको छ भने २९ वटाको घटेको र ५ वटाको सेयरमा कुनै परिवर्तन देखिएको छैन।

आज इमर्जिङ नेपालका लगानीकर्ताले ८.०१ प्रतिशत आम्दानी गरेका छन्। यो नै आजको सर्वाधिक आम्दानी दर हो। लगानीकर्ताहरुले ७.७५ प्रतिशतसम्म गुमाएको दि शिवम् सिमेन्टको १५ करोडको सर्वाधिक कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्