टेलिकमको समर अफर : पहिलेकै मूल्यमा थप डेटा र भ्वाइस सेवा पाइने

काठमाडौं, साउन १ ।  नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाको महसुलमा भोलि साउन १ गतेदेखि नयाँ दर लागू हुने भएको छ।

नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागू हुनेगरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो।

कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर (पे एज यु गो) अन्तर्गतका भ्वाइस र डेटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा तीन प्रतिशत रकम स्वतः घट्ने छ ।

यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न प्याकेजहरु उपलब्ध गराइएको छ । पहिले उपलब्ध सबै अफरहरुलाई अब उही मूल्यमा थप डेटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफर समेत थप गरिएका छन् । यस अनुसार केही अफरहरुमा उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढीे डेटा भोल्युम थप भएका छन् ।

यस बाहेकका डेटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ । उदाहरणका लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ ।

त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरुमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एप र वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्