यस्तो छ कांग्रेसद्वारा प्रस्तावित नेताहरुको मर्यादाक्रम (विवरणसहित)

काठमाडौँ , असार २८ ।   प्रमुख नेपाली कांग्रेसले आफ्ना नेता-कार्यकर्ताहरुको मर्यादाक्रम प्रस्ताव तय गरेको छ । सोमबारदेखि जारी केन्द्रीय कार्य समिति बैठकमा उक्त मर्यादाक्रमसम्बन्धी विवरण पेश गरिएको हो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सानेपास्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा मर्यादाक्रम निर्धारणको निम्ति प्रस्तुत मस्यौदा पेश भएको जानकारी दिए ।

जसअनुसार मर्यादाक्रमको पहिलो नम्बरमाा केन्द्रीय सभापति, दोस्रोमा पूर्वकेन्द्रीय सभापति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा पूर्वप्रधानमन्त्री, पाँचौँमा संसदीय दलका नेता, छैटौँमा केन्द्रीय पदाधिकारीलाई राखिएको छ ।
त्यसैगरी सातौँमा संसदीय दलका पूर्व नेता, आठौंमा केन्द्रीय पदाधिकारी, नवौँमा केन्द्रीय सदस्य र दशौँमा राष्ट्रियसभा दलका नेतालाई राखिएको छ ।

त्यसैगरी मर्यादाक्रमको अन्तिम अर्थात १२० औँ नम्बरमा क्रियाशील सदस्य र १२१ औँ नम्बरमा नेपाली कांग्रेसका सदस्यहरुलाई राखिएको छ ।

नेपाली कांग्रेस प्रदेश सभापतिहरूले प्रस्तावित मर्यादाक्रममा आपत्ति जनाएका छन् । सातै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पार्न लागिएको गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिएका छन् ।

प्रदेश सभापतिहरूको प्रस्तावित मर्यादाक्रम ११ नम्बरमा पुर्‍याइएको छ । केन्द्रीय सभापतिपश्चात् आफूहरू रहनुपर्ने उनीहरूको माग छ । ‘आफूहरू केन्द्रीय सदस्यभन्दा माथि, केन्द्रीय सभापतिभन्दा मुनि हुनुपर्छ’ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्