काठमाडौंका यी स्थानमा फैलियो हैजा, सचेत रहनु होला

काठमाडौं , असार २३ । पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाको प्रकोप फैलीएको छ । असार २ गतेदेखि देखिएको हैजा संक्रमण २२ गतेसम्म आइपुग्दा २१ जनामा देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उपत्यकाका सात पालिकामा हैजाका बिरामी भेटिएका छन् । हैजा संक्रमित सबैभन्दा धेरै देखिनेमा काठमाडौं महानगरपालिका छ, महानगरका १, २, १३, १४, २८ र २९, वडामा ११ जना संक्रमित भएका हुन् ।

महानगरबाहिर कीर्तिपुर नगरपालिकामा १, चन्द्रागिरीमा २, कागेश्वरी मनोहरामा ३ र बूढानीलकण्ठ नगरपालिकामा १ जना हैजा संक्रमित भेटिएका हुन् । त्यस्तै, ललितपुर महानगरपालिकामा २ र भक्तपुरको चाँगुनारायण नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्रोतको पानी शुद्धीकरण नगरिकन पिउँदा हैजा संक्रमण फैलिएको महाशाखाले निष्कर्ष निकालेको छ । यसअघि, पहिलोपटक हैजा संक्रमित देखिएको बागबजार क्षेत्रका बिरामीले पिउने गरेको धारा र ट्युबेलको पानीमा इकोली जीवाणु भेटिएको थियो । त्यसपछि संक्रमण देखिएका अधिकांश क्षेत्रको पानीमा सो जीवाणु भेटिएको महाशाखाले जनाएको छ ।

काठमाडौंका धारा, ट्युबेल, इनारको पानीमा इकोली भेटिएकाले पानी उमालेर मात्रै पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्