अर्थमन्त्री जनार्दन शर्माले दिए  पदबाट राजीनामा

काठमाडौं, असार २२ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा शर्माले गरेका छन् ।

उनले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कुनै त्रुटी नगरेको दाबी गर्दै एउटा होइन, हजार वटा छानबिन समिति सामना गर्न तयार रहेको पनि बताएका छन्।

यसैबीच अर्थमन्त्री जनार्दन शर्माको यति बेला चर्को विरोध भइरहेको छ । उनी अहिले विवादमा परिरहेका छन् । शर्माले भने बजेट निर्माणमा कुनै त्रुटी नगरेको दाबी गरेका छन्।

बुधबार बसेको संसद बैठकमा धारणा राख्दै उनले स्थापित मूल्य र मान्यताकै आधारमा बजेट बनेको प्रतिक्रिया दिएका छन् ।

जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो ।

आजै एमालेको माग बमोजिम अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्