सत्तारुढ दलहरु संसदीय छानविन गर्न तयार, एमालेको शर्त अर्थमन्त्रीको राजीनामा

काठमाडौँ , असार २२ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन र मन्त्रीलाई राजीनामा दिनुपर्ने शर्त राखेको छ ।

आफूहरूले यी दुई माग प्रस्तुत गरेको एमालेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ‘हाम्रो माग अर्थमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने र उनलाई बर्खास्त गर्नुपर्ने भन्ने हो । हामी आन्तरिक छलफलमा छौं’, भट्टराईले भने । आफूहरूको माग सम्बोधन नहुँदासम्म विरोध जारी रहने उनको भनाइ छ ।

संसदीय समिति गठनका लागि गृहकार्य भइरहेको सत्ता पक्षीय नेताहरू बताउँछन् । त्यसैका लागि आज बिहान ११ बजे बोलाइएको बैठक २ बजेसम्म स्थगित पनि गरिएको छ । सत्तारुढ दल अर्थत्रन्त्री शर्मामाथि उठेको प्रश्नका विषयमा संसदीय समिति बनाएर छानविन गर्न तयार रहेका छन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै एमालेले संसदीय छानविनको माग गर्दै आएको थियो । सत्तारुढ दलहरु शुरुमा संसदीय समिति गठनका लागि तयार भएनन् । बरु अर्थ मन्त्रालयले १३ दिनसम्मको मात्र सीसीटीभी फुटेज रहने भन्दै बजेट निर्माणको समयको फुटेज मेटिएको बतायो । यसपछि अर्थमन्त्री शर्मामाथि राजीनामाको चर्को दबाव परेको छ ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसबारे छलफल भएको थियो । बुधबार माओवादी संसदीय छानबिन समिति बनाउन तयार भयो । त्यसअघि अर्थमन्त्री शर्माले संसदमा बोल्ने भन्दै माओवादी नेताहरुले एमाले नेताहरुसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्