अर्थमन्त्रीमाथि छानबिन गर्न योजना आयोगका ६ जना पूर्वउपाध्यक्षको माग

काठमाण्डाै , असार २१ ।  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूले बजेट निर्माणको क्रममा अनियमितता भएको विषयमा अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन् ।

योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरू पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, डा. युवराज खतिवडा, डा. दिनेशचन्द्र देवकोटा, डा. गोविन्दराज पोखरेल र डा. पुष्प कँडेलले संयुक्त विज्ञप्ति निकालेर बिग्रँदाे अर्थतन्त्रलाई सुधार गर्नुको साटो बजेट निर्माणमै खेलबाड गर्नु गम्भीर धोका भएको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

सङ्कटोन्मुख परिस्थितिको सामना गर्न सरकार खास योजनाका साथ अघि बढ्न नसकेको ठहर गर्दै पूर्वउपाध्यक्षहरूले बजेट निर्माणमा अनुशासनहीन क्रियाकलाप भएको लगायतका घट्नाक्रमले नेपालको अर्थतन्त्र झनै समस्यामा थप्ने विज्ञप्तिमा उल्लेख छ ।

‘नागरिकको पसिनाबाट उठेको करको दुरुपयोग भएको, मूल्यवृद्धि र जनजीविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको र सरकारले कुशासनलाई नै टेवा पुग्ने काम गरिरहेकाले थप आर्थिक जटिलताको सङ्केत गरिरहेको अवस्थामा योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरूमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायसमक्ष माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

यस्ताे छ विज्ञप्ति–

शंकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपिल हामी नेपाल सरकारलाई मुलुकको वर्तमान शंकटोन्मुख अर्थतन्त्र र आर्थिक अनुशासनहिनताबारे गम्भिर ध्यानाकर्षण गराउन चहान्छौ । विदेशी विनिमय संचितिमा निरन्तर कमी आएपछि सरकारले बाध्यात्मक रुपमा विभिन्न सामाग्रीहरुको आयात समेत बन्देज गरिसकेको छ । विदेशी विनिमय संचिति सुधार गर्नका लागि निर्यात बढाउने, विदेशी लगानी आकर्षित गर्ने, पर्यटक आगमन सहज बनाउने, रेमिट्यान्स औपचारिक माध्यमबाट भित्र्याउन पहल गर्ने र वैदेशिक सहायता तथा ऋणको उचित परिचालन हुन सकेको छैन । न्यून पॅुजीगत खर्चले मुलुकमा लामो समयदेखी वित्तीय क्षेत्रमा तरलता अभावको समस्या छ । शंकटोन्मुख यस परिस्थीतिको सामना गर्न सरकार ठोस योजनाका साथ अघि बढ्न नसकेको हाम्रो ठम्याई छ । यही“ परिस्थीतिको सामना गर्नुका सट्टा बजेट निर्माण अनुशासनहिन क्रियाकलाप भएको भन्दै निजी क्ष्ँेत्र, अर्थशास्त्री तथा पूर्व अर्थमन्त्रीहरु, गठबन्धन भित्रकै नेता शेखर कोईराला र गगन थापा, आम सञ्चारमाध्यमले प्रश्न उठाईरहेका छन् । सत्ता नेतृत्वकर्ता दलका महामन्त्रि गगन थापाले अर्थमन्त्रिको राजीनामा नै मागिसके। प्रमुख प्रतिपक्ष दल– नेकपा एमालेले बजेट निर्माणमा भएको अनियमित क्रियाकलापको संसदिय छानविनको माग गरिरहेको छ । यि सबै घट्नाक्रमहरुले नेपालको अर्थतन्त्र अहिले समस्यामा रहेको, जनताको पसिनावाट उठेको करको दुरुपयोग भएको, मुल्य बृदि र जनजिविकाका सवालमा सरकारलै संबोधन गर्न नसकेको र सरकारले कुशासनलाई नै टेवा पुग्ने काम गरिरहेकाले थप आर्थिक जटिलताको संकेत गरिरहेको छ । त्यसकारण हामी पूर्वउपाध्यक्षहरु सरकारसमक्ष अहिलेको शंकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरुमाथी यथोचित छानविन गर्न मन्त्रिपरिषद, संसद र संवैधानिक निकायसमक्ष माग गर्दछौ ।

१. पृथ्वीराज लिगल २. डा. जगदिशचन्द्र पोखरेल ३. डा. युवराज खतिवडा ४. डा. दिनेशचन्द्र देवकोटा ५ डा. गोबिन्दराज पोखरेल ६. डा. पुष्प कंडेल

प्रतिक्रिया दिनुहोस्