विवादमा अर्थमन्त्री शर्मा , शीर्ष नेताबीच छलफलको तयारी

काठमाडौं, असार २१ । बजेट निर्माणमा बिचौलिया प्रयोग गरेको भन्दै विवादमा मुछिनुभएका अर्थमन्त्री जनार्दन शर्माको बारेमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

शर्माले राज्यको गोपनीयता भंग गरेकोले उनले राजीनामा नदिए बर्खास्त गरेर थप कारबाही गर्नुपर्ने माग उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शीर्ष नेताबीच छलफल हुने बताएका छन् ।

माओवादी केन्द्रका नेताहरुको खुमलटारमा मंगलबार बिहान बसेको बैठकमा नेताहरुले अर्थमन्त्री शर्माको भूमिकालाई लिएर प्रश्न उठाएपछि उनले शीर्ष नेतृत्वबीच छलफल हुने जानकारी दिएका हुन् ।

सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादी केन्द्रभित्र समेत शर्माको भूमिकालाई लिएर व्यापक प्रश्न उठेको छ । यसैबीच माओवादी केन्द्रको पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन पार्टीले अध्यक्ष दाहाललाई जिम्मा दिएको छ ।

दाहाल निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यको आजको बैठकले पदाधिकारी सहित स्थायी समिति र पोलिटब्यूरो टुङ्गो लगाउन अख्तियार दिएको हो । माओवादी विधानमा अध्यक्ष सहित १५ जना पदाधिकारी हुने व्यवस्था गरेको छ ।

जसमा वरिष्ठ उपाध्यक्ष एक जना, एक जना महासचिव र एक कोषाध्यक्ष हुने छन् । अरु उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा ११ जना समेटिने भएका छन् । अरु पदमा समेट्न अध्यक्ष दाहाललाई खासै समस्या नभए पनि महासचिव पदमा भने गाह्रो देखिएको छ ।

महासचिव पदमा जनार्दन शर्मा र वर्षमान पुनले दाबी गरेका छन् । शर्मा र पुन दुवैसँग परामर्श गरेर अध्यक्ष दाहालले पदाधिकारीलाई पूर्णता दिने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्