असार २९ गते राप्ती हाइड्रोको आइपिओ आउँदै

काठमाडौं, असार २१ । पछिल्लो समय आपीओ धमाधम आइरहेका छन् । यसैक्रममा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यही असार २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन ( आइपिओ) खुला गर्न लागेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको सेयरमा बिक्री नभएर बाँकी रहेका ३७ हजार ६ सय २३ कित्तासहित कुल २३ लाख ६६ हजार दुई सय ४० कित्ता सेयर निष्कासन गर्ने जनाएको छ ।

कम्पनीले जारी गरेको आह्वानपत्रअनुसार कुल निष्कासित सेयरमध्ये तीन प्रतिशत अर्थात् ७० हजार नौ सय ८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् एक लाख १८ हजार तीन सय १२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यसमा बाँकी रहेका २१ लाख ७६ हजार नौ सय ४० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले आगामी साउन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने र उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बी’ रेटिङ प्रदान गरेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सहनिष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्