शेयर बजारमा हरियाली, ८ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं , असार १९ ।   कारोबार हुने साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ ।

आइतबार नेप्से परिसूचक ५५.१० अंकले बढेर २०८३.८७ विन्दुमा पुग्दा ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ९.२६ अंकले बढेर ३९७.८७ विन्दुमा चढेको छ ।

बजारमा सुधार आउँदा कारोबार रकम पनि बढेको छ । यस दिन २ सय ३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४८ करोड ४ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । जुन, शुक्रबारको भन्दा धेरै हो ।

बजार बढ्दा उपसूचक समूहहरू पनि हरियो भएका छन् । व्यापार, निर्जीवन बीमा, लघुवित्त, उत्पादन, जीवन बीमा, जलविद्युत् र विकास बैंक समूहमा तीन अंकले सुधार आएको छ ।

यस्तै, बैंक, सहकारी, होटल तथा पर्यटन र अन्य समूह दुई अंकले उकालो चढ्दा म्युचल फन्ड र लगानी समूहमा सामान्य सुधार आएको छ ।

यसदिन नग्दी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै २२ करोडको कारोबार भएको छ । दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरको ८ करोड ८१ लाखको कारोबार भयो ।

आइतबार साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन पावर, अपर तामाकोसी, साञ्जेन जलविद्युत्, नेस्डो लघुवित्त, सिवाईसी नेपाल लघुवित्त र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्