आजदेखि २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौं , असार ९  । सरकारले आज (बिहीबार) देखि २७ जिल्लामा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप दिँदैछ । खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

२७ जिल्लाका बालबालिकालाई आजदेखि १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने जनाइएको छ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ । यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएन्टेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

सामान्य असर देखिन सक्ने, आत्तिनु पर्दैन

सरकारले प्रत्येक खोप केन्द्रमा एक तालिमप्राप्त स्वास्थ्यकर्मी राख्ने र खोप लगाएका बालबालिकामा केही असर देखिए केन्द्रमा नै उपचारको व्यवस्था गर्ने जनाएको छ ।

खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुनसक्ने भएकाले यस्ता असरलाई स्वाभाविक रूपमा लिन परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ । यस बाहेक अन्य असर देखा परे तुरुन्त अनुसन्धान थाल्ने पनि महाशाखाले जनाएको छ ।

यी हुन् आजदेखि खोप दिइने २७ जिल्ला
प्रदेश-१ – झापा, इलाम मोरङ, सुनसरी
मधेस प्रदेश – सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी
वाग्मती प्रदेश- काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर
गण्डकी प्रदेश – कास्की, नवलपरासी पूर्व
लुम्बिनी प्रदेश – नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया
कणर्ाली प्रदेश – सुर्खेत
सुदूरपश्चिम प्रदेश – कैलाली कञ्चनपुर र डडेलधुरा

प्रतिक्रिया दिनुहोस्