रास्फोर्डको गोलमा इङ्ल्यान्डको जित

लन्डन (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका १९ वर्षीय स्ट्राइकर मार्कस रास्फोर्डको उत्कृष्ट गोलको मद्दतमा इङ्ल्यान्डले विश्व कप छनोटमा गए राति स्लोभाकियालाई २–१ ले हराएको छ । दोस्रो स्थानको स्लोभाकियाविरुद्ध जितेपछि इङ्ल्यान्डको रुस विश्व कपमा छनोट हुने सम्भावना बलियो बनेको छ ।

लन्डनको वेम्ली मैदानमा भएको खेलको सुरुआतमा घरेलु टोली पछि परेको थियो । तेस्रो मिनेटमा स्टानिसलाभ लोबोक्टाले पहिलो टचमा राम्रो नियन्त्रण गर्दै गोलरक्षक जो हार्टलाई नघाउँदै गोल गरेका थिए ।

तर इङ्ल्यान्डले पहिलो हाफमै खेलमा बराबरी गर्यो । ३७ औं मिनेटमा रास्फोर्डले प्रहार गरेको कर्नरमा एरिक डायरले हाफ भली मार्फत नियर पोस्टको टप कर्नरको दिशामा प्रहार गर्दै गोल गरेपछि खेल बराबरी पुगेको थियो ।

रास्फोर्डले ५९ औं मिनेटमा इङ्ल्यान्डलाई अग्रता दिलाए । इङ्ल्यान्डका लागि दोस्रो गोल गर्ने क्रममा रास्फोर्डले २२ यार्डबाट गरेको प्रहारले फार पोस्टमा जाली चुमेको थियो । त्यही गोल खेलको निर्णायक बन्यो । जितसँगै अपराजित इङ्ल्यान्ड समूह “एफ” मा ६ जित र २ बराबरीका साथ २० अंक सहित शीर्षस्थानमा कायम छ । दोस्रो स्थानको स्लोभाकियाको १५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्