असारमा २ खर्ब ३ अर्ब रुपैयाँ विकास खर्च गरिसक्नु पर्ने, जेठ मसान्तसम्म कति भयो ?

काठमाण्डौ , असार १ । चालु आर्थिक वर्ष २०७८/७९ को बाँकी रहेको एक महिना असारमा सरकारले २ खर्ब ३ अर्ब रुपैयाँ विकास खर्च गरिसक्नु पर्ने भएको छ ।

यस आवको ११औं महिना जेठ मसान्तसम्म १ खर्ब ३७ अर्ब ९६ करोड रुपैयाँ पूँजीगत बजेट खर्च भएको छ । यो कुल लक्ष्य ३ खर्ब ७८ अर्ब ९ करोड रुपैयाँको मात्र ३६।४९ प्रतिशत उपलब्धि हो । यो लक्ष्यलाई समेत सरकारले चालु आर्थिक वर्षको ६ महिनापछि अर्धवार्षिक समीक्षाबाट घटाएर ३ खर्ब ४० अर्ब रुपैयाँमा झारिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार विकास खर्चको संशोधित लक्ष्य भेटाउन समेत सरकारले असार महिनामा मात्र २ खर्ब ३ अर्ब रुपैयाँ खर्च गरिसक्नु पर्छ । सरकारले वैशाखसम्म निर्वाचनसहित विभिन्न कारणले विकास खर्चले गति लिन नसकेको बताएको छ । त्यसयताको एक महिनामा विकास खर्चले केही गति लिएको तथ्यांकले देखाएको छ ।

जेठ महिनामा मात्र १९ अर्ब रुपैयाँ विकास खर्च भएको छ । तर, यसले समग्र खर्चलाई गति दिन भने पर्याप्त भएन । वैशाख मसान्तसम्म १ खर्ब १८ अर्ब रुपैयाँ रहेको विकास खर्च जेठ मसान्तसम्म आइपुग्दा १ खर्ब ३७ अर्ब पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्