१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा, नेपालको कुल ऋण १७ खर्ब ३७ अर्ब
काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब पुगेको छ ।
कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले वृद्धि भई १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ । अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः११.६ रहेकामा चालू आवको सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १ः९.३ रहन आएको छ ।
उक्त अवधिमा नेपालबाट भटमासको तेल, पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैँची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र बिरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादन, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड तथा जडीबुटी निकासी भएका छन् ।
भटमासको तेलको निर्यातमा २६.८५ प्रतिशतले वृद्धि भएको छ । ४५ अर्ब ३५ करोडको भटमासको तेल निर्यात हुँदा समीक्षा अवधिमा ३७ अर्ब ९५ करोडको पाम आयल निर्यात भएको केन्द्रले जनाएको छ । समीक्षा अवधिमा यार्न (पोलिष्टर, सूर्ती तथा अन्य) को निर्यातमा ५९.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ऊनी गलैँचा निर्यातमा २८.५६, जुट तथा जुटका उत्पादन निर्यातमा १६.२१ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा कुकुर र बिरालोको आहार (डगच्यू) को निर्यातमा ४१.१३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ३१ करोड पुगेको केन्द्रले जनाएको छ ।
चालू आवको १० महिनाको अवधिमा प्रशोधित खाद्य तेल (भटमासको तेल, पाम आयल, सूर्यमुखी तेल) को निर्यात कूल निर्यातमा ५०.५३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखापरेको छ । यस अवधिमा प्रशोधित खाद्य तेलको कूल निर्यात रु ८७ अर्ब ६० करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पाम आयल तथा सूर्यमुखीतेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २६.१६, २१.८९ र २.४८ प्रतिशत छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँची र चियाको निर्यातमा भने ह्रास आएको छ । समीक्षा अवधिमा अलैँचीको निर्यातमा २९.५३ प्रतिशतले ह्रास आई रु चार अर्ब २२ करोड र चियाको निर्यातमा १८.२३ प्रतिशतले ह्रास आई रु दुई अर्ब ७६ करोडमा सीमित भएको छ ।
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा ७२.९ प्रतिशतले वृद्धि भई एक खर्ब ३७ अर्ब १८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७३.१२ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा सो हिस्सा बढेर ७९.१३ प्रतिशत पुगेको छ ।
नेपालको निर्यातमा ५०.५३ प्रतिशत योगदान राख्ने भटमास, पाम आयल र सूर्यमुखी तेलको निर्यात भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । संयुक्तराज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्डस्, डेनमार्क, बङ्गलादेशलगायत मुलुकमा नेपाली उत्पादन निर्यात हुँदै आएका छन् ।
चालू आवको प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ८१.१ प्रतिशतले वृद्धि भएको छ ।
सो अवधिमा दुई खर्ब ५२ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १३.८, मेशिनरी तथा पार्टस्को आयातमा २२.१, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५.३, कच्चा भटमास तेलको आयातमा २५.२ प्रतिशतले वृद्धि भएको छ ।
समीक्षा अवधिमा औषधीको आयातमा १३४.९ प्रतिशतले वृद्धि भएको छ । खोपको आयात भारी मात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । भारत, चीन, इण्डोनेशिया, संयुक्तराज्य अमेरिका, युएई, अर्जेन्टिना, अष्टे्रलिया, युक्रेन, मलेशिया, ब्राजिल, बङ्गलादेश, थाइल्याण्ड, क्यानडा तथा टर्कीबाट प्रमुखरुपमा वस्तु आयात हुने गरेको छ । चालू आवको समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्यरुपमा सुधार भए पनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापार घाटामा २४.९ प्रतिशतले वृद्धि भई कूल व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ ।
त्यसैगरि अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व वृद्धि गरेर मुलुक आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने वाध्यता रहेको बताएका छन् । आज ९शुक्रबार० प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफलमा बोल्दै उनले सन् २०२६ सम्म विकसित मुलुक बनाउने सरकारको लक्ष्य पूरा गर्न पनि ऋण लिनु पर्ने आवश्यकता रहेको बताए ।
उनले परियोजनाहरुमा ऋण लिने र खर्च गर्ने परिपाटी बदल्नु पर्ने बताउँदै अहिले मुलुकको आन्तरिक र वाह्य गरी कुल ऋण १७ खर्ब ३७ अर्ब रहेको जानकारी गराएका छन् । सरकारले आउने आर्थिक वर्ष मात्रै ४० देखि ४५ अर्ब रुपैयाँ ऋण भुक्तानी गर्न लागेको मन्त्री शर्माले बताएका छन् । ऋण भुक्तानी गर्नु परेकाले अहिलेको बजेटमा पुँजीगत खर्च भन्दा चालुु खर्चमा वित्तीय व्यवस्थापन धेरै भएको उनको भनाइ छ ।
‘अहिले बजेटमा छुट्टिने पुँजीगत तथा समग्र खर्च जति छ त्यो खर्चले मात्रै हामीले लक्ष्य हासिल गर्न सक्दैनौं । हामीले २०२६ सम्ममा स्तरोन्नति गर्ने लक्ष्य राखेका छौं । त्यो लक्ष्य पूरा गर्नको लागि सरकारलाई ऋण लिन आवश्यक छ’ मन्त्री शर्माले भने ‘उत्पादनमुलक नभई सामान्य परियोजनामा ऋण लिने र खर्च गर्ने परिपाटी छ त्यसलाई हामीले बदल्नु पर्छ ।’
अर्थसचिव मधुकुमार मरासिनीले सरकारले अहिले सार्वजनिक ऋण व्यवस्थापन हेर्ने छुट्टै निकाय बनाएर व्यवस्थित बनाउन लागेको जानकारी गराएका छन् । उनले भने ‘मन्त्रालयले सार्वजनिक ऋणसम्बन्धी नीतिहरु बनाउँदै छ । भएका दुई वटा ऐनभन्दा पनि एउटै ऐनबाट काम गरौं भनेर दुई वटा ऐनलाई मर्ज गरी सार्वजनिक ऋण व्यवस्थापन विधेयक ल्याएका हौं ।’ सचिव मरासिनीले सार्वजनिक संस्थानहरुलाई सरकार ग्यारेन्टी बसेर ऋण दिने व्यवस्था हटाउनु पर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्