आयल निगमले आईओसीलाई ३८ अर्ब तिर्नुपर्ने

काठमाडौँ , जेठ २७ । पछिल्लो समय नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्नुपर्ने बक्यौता रकम बढ्न थालेको छ ।

असार ९ गतेसम्म यस्तो बक्यौता ३८ अर्ब पुग्ने निगमले जनाएको छ । त्यतिबेलासम्म तेल बिक्रीबाट १२ अर्ब उठ्ने र आईओसीलाई बुझाइने निगमले स्पष्ट पारेको छ ।

त्यसपश्चात पनि २६ अर्ब बक्यौता बाँकी नै रहने जनाउँदै निगमले अब प्रत्येक हप्ता मूल्य समायोजन गर्नुपर्ने बाध्यता रहेको जनाएको छ । विज्ञप्तिमा निगमले भनेको छ ‘बक्यौता रकममा ब्याज लाग्ने भएको र लागत थप बढ्न जाने देखिएको हुँदा आपूर्ति परिमाण कटौती गर्दै प्रत्येक हप्तामा मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यता निगमसामु देखिएको छ ।’

आर्थिक वर्षको वैशाख मसान्तसम्म निगमलाई करिब ४७ अर्ब नोक्सानी भइसकेको र असार मसान्तसम्म झण्डै ६० अर्ब पुग्ने निगमको अनुमान छ । पेट्रोलियम पदार्थको खपत कम गर्न र स्वदेशी ऊर्जाको खपत बढाउन पनि निगमले आग्रह गरेको छ ।

निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर २४ रुपैयाँ ७० पैसा र डिजेलमा १८ रुपैयाँ नोक्सान छ । त्यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ । मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर १७ रुपैयाँ नाफा रहेको पनि निगमले प्रष्ट पारेको छ ।

यसरी सबै इन्धनको मूल्य समायोजन गर्दा आगामी १५ दिनमा ३ अर्ब १ करोड नोक्सानी रहने निगमको अनुमान छ । यसअघि बिहीबार राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोल प्रतिलिटर ८ र डिजेल तथा मट्टिटेल १२ रुपैयाँले बढाएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टितेल १६५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्