प्रतिनिधिसभाको शून्य समय : नागरिकता विधेयक पास गर्नेदेखि गुरुकुलबाट दलित बालक निकालेको प्रसङ्गसम्म

काठमाडौं, जेठ २६ । प्रतिनिधिसभा सांसदहरूले जनजीविकाका सवालमा बैठकमा आवाज उठाएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरूले आ–आफ्नो क्षेत्र र जिल्लाका समस्याको उठान गरेका हुन् ।

सांसद नवराज राउतले रुखका पात र आकाशमा बादल लाग्ने बित्तिकै बत्ती जाने प्रदेश भनेर कर्णाली प्रदेशलाई भन्न थालिएको बताउनुभयो ।

राउतले कोहलपुर सुर्खेत १३२ केभी प्रशारण लाइनको कामको टेण्डर भएको दुई वर्ष भइसक्दा पनि काम हुन नसक्नुले यो समस्या आएको बताउनुभयो । पछिल्लो समय दिनको ३५ पटक समेत बत्ती जानेको गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै सांसद नवराज सिलवालले निजी अस्पातालहरूले जनताको ढाड सेकिने गरी उपचार खर्च लिँदासमेत सरकार मौन बसेको बताउनुभयो ।

उहाँले निजी अस्पतालले १० प्रतिशत बेडमा जनतालाई निःशुल्क उपचार गर्ने सरकारसँग सम्झौता गरेपनि कुनैले पनि कार्यान्वयन नगरेको भन्दै सरकारलाई तत्काल अनुगमन गर्न माग गर्नुभयो ।

सांसद निरुदेवी पालले सरकारले छिटो भन्दा छिटो संसदमा विचाराधीन रहेको नागरिकता विधेयक पास गर्न माग गर्नुभयो । उहाँले नागरिकता विद्येयक संसदबाट पास नहुँदा विशेष व्यवस्थामा रहेका नागरिकले नेपाली नागरिकता पाउनबाट बञ्चित भएको बताउनुभयो ।

सांसद पालले सांसदबाट यसअघि नै पास भएको आमाको सिफारिसमा छोरा छोरीले नागरिकता पाउने व्यवस्था सरकारलाई लागू गर्नसमेत माग गर्नुभयो ।

त्यस्तै, सांसद पद्याकुमारी अर्यालले लोमो समयदेखि बन्द रहेको त्रिभूवन विश्वविद्यालय तत्काल खुल्ला गर्न सरकारसँग माग गर्नुभयो । उहाँले प्रधानमन्त्री उपकुलपति र शिक्षामन्त्री सहकुलपति भएको विश्व विद्यालय पाँच महिनादेखि बन्द हुँदा समेत मौन बस्नु राम्रो नभएको बताउनुभयो ।

त्यस्तै सांसद पार्वती विशुंखेले ललितपुरको शंखमुलमा २०६९ सालदेखि सञ्चालनमा रहेको जगतगरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई पढाइबाट वञ्चित गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाले पढ्न नपाउने कारणबारे गुनासो गर्नुभयो ।

त्यस्तै, सांसद नविना लामाले जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीका कारण विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएको बताउनुभयो । उहाँले जनक शिक्षा बचाउने नाममा विद्यार्थीले समयमा कहिल्यै पुस्तक नपाएको गुनासो गर्नुभयो ।

लामाले छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री खारेज गर्न माग गर्नुभयो । उहाँले सरकार जनक शिक्षा सामग्रीलाई पैसा दिइरहने जनक शिक्षा जहिल्यै पाठ्यपुस्तकमा लापरवाही गरिने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्