कक्षा १२ को परीक्षा सोमबारदेखि, तयारी पुरा

काठमाडौं, जेठ १५ ।  कक्षा १२ को परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरु हुँदै छ।

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने उक्त परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन्।

चार लाख १५ परीक्षार्थी सहभागी हुने परीक्षा जेठ १६ गते सोमबार बिहान ८ बजेदेखि सुरु हुने र जेठ २५ गते सकिने छ।

त्यसैगरी देशभर एक हजार २ सय ९२ परीक्षा केन्द्र तोकिएको छ। बोर्डका अध्यक्ष डा. शर्माले ७७ जिल्लाकै सबै केन्द्रमा परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अगाडि अनलाइनबाट प्रश्नपत्र पठाइने जानकारी दिए।

परीक्षा केन्द्रले प्रश्नपत्र फोटोकपी गरेर परीक्षार्थीलाई वितरण गर्नेछ।

विगत दुई वर्ष कोभिड महामारीका कारण विद्यार्थीले अध्ययन गरेकै विद्यालय (होम सेन्टर) मा परीक्षा सञ्चालन गर्दा अनलाइनबाटै प्रश्नपत्र पठाउने व्यवस्था गरेपछि यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाउने व्यवस्था गरिएको हो।

साथै कक्षा ११ को परीक्षा पनि सोमबारदेखि नै सञ्चालन हुने भएको छ। कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्था गरिएकोले अधिकांश विद्यालयले भोलिदेखि नै परीक्षा सञ्चालन गर्ने भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्