आज बजेट आउँदै : वृद्धभत्ता पाउने उमेर घट्ने, कर्मचारीको तलव बढ्ने

काठमाडौं, जेठ १५  । सरकारले आज (आइतबार) आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अर्थमन्त्री जनार्दन शर्माले आज दिउँसो चार बजे आर्थिक वर्ष २०७९/८० को राजस्व र व्यायको वार्षिक अनुमान सार्वजनिक गर्न लागेका हुन् । देशको अर्थतन्त्र जोखिमपूणर् अवस्थाबाट गुज्रिरहेका बेला आउन लागेको बजेटलाई चासोका साथ हेरिएको छ । तर सरकारले आसन्न सङ्घीय र प्रादेशिक चुनाव लक्षित मतदाता रिझाउने गरी महत्वाकांक्षा बजेट ल्याउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ ।

सरकारले तोकिएको सीमाभित्रै रहने गरी बजेट ल्याउने जनाइएको छ । बजेट १७ खर्ब हाराहारीको बनिरहेको अर्थमन्त्रालयका अधिकारीले बताएका छन् । बजेटमा सामाजिक सुरक्षा, कर्मचारीको तलब वृद्धि, करका दर परिवर्तन, आयकर छुट, भन्सार छुट, इन्धनमा १० रुपैयाँ कर कटौतीलगायतका कार्यक्रम समेट्ने तयारी रहेको स्रोतले जनाएको छ ।

उच्च आयात र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकाले आन्तरिक उत्पादनलाई जोड दिनेगरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । स्रोत र खर्च क्षमतालाई केन्द्रमा राखेर कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञले पनि सुझाव दिएका छन् ।

मूल्यवृद्धि नियन्त्रण गर्ने र उपभोक्तालाई राहत पुग्ने कार्यक्रम ल्याउन र ती कार्यक्रमको कार्यान्वयन पक्षमा ध्यान दिन पनि उनीहरुको जोड छ । चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब रुपैयाँको बजेट आएको थियो । तर अर्धवार्षिक समीक्षाबाट आकार घटाउँदै १५ खर्ब ४६ अर्ब रुपैयाँको बनाइएको थियो ।

नयाँ बजेटको कार्यान्वयनमार्फत ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने योजना आयोगको प्रक्षेपण छ । बजेट संसदमा पेस गर्नु पूर्व मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्